स्वरसम्राट नारायणगोपाल

काठमाडौं, १९ मंसिर–आज (मंगलबार) स्वरसम्राट नारायणगोपालको ३३औँ स्मृति दिवस। नारायणगोपाल गुरुवाचार्य नेपाली संगीतका महान् गायकका रूपमा चिनिन्छन्। उनको जन्म काठमाडौंको किलागलमा १९९६ असोज १८ गते भएको थियो।

२० को दशकको उत्तरार्धतिर रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका थिए। ३० वर्ष लामो गायनयात्रामा उनले १३७ गीत गाएको संगीतका अध्येता प्रकाश सायमी बताउँछन्। आधुनिक गीतका साथै उनले केही चलचित्रमा समेत गाएका छन्।

साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना ९बाजा, गीत, नाच० नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए।

दार्जिलिङबाट आएका गोपाल योञ्जन, धनकुटाका नगेन्द्र थापा र नारायणगोपालको समूह बनेको थियो। थापाको गीत, योञ्जनको संगीतमा नारायणगोपालले थुप्रै गीत गाए। योञ्जन र नारायणगोपालले दार्जिलिङमै मित लगाएका थिए।

नारायणगोपालले ‘श्रद्धाको फूल चढाइदिनु’,​‘दुईटा फूल द्यौरालीमा’, ‘बुझ्नै सकिनौ तिमीले’, ‘चिनारी हाम्रो धेरै पुरानो’, ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’, आजै र राति के देखेँ सपना’,‘पोखिएर घामको झुल्का’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘पर्खी बसेँ आउला भनी’, ‘एउटा मान्छेको मायाले कति’, ‘स्वर्गकी रानी मायाकी खानी’, ‘ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो’ र ‘सिरीमा सिरी नि कान्छा’ लगायत गीत गाएका छन्।

भक्तराज आचार्य, फत्तेमान, अरुणा लामालगायतलाई समेत आफ्नो संगीतमा गाउन लगाएका उनको संगीतमा रामकृष्ण ढकालले गाएको ‘माया गर्नेको चोखो माया पनि देखियो’ चर्चित रह्यो। यो गीत शुरुमा नारायणगोपाल आफैँले गाए पनि रेकर्डिङ गर्न नपाउँदा उनको निधनपछि ढकालले स्वर दिए। यसलाई लोचन भट्टराईले समेत गाएकी छिन्।

नारायणगोपालको निधन २०४७ मंसिर १९ गते भयो। गोरखा दक्षिण बाहु, चौथो, इन्द्रराज्यलक्ष्मी प्रज्ञा, छिन्नलता, जगदम्बाश्रीलागायत प्रतिष्ठित पुरस्कार पाएका उनलाई २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो प्रदान गरिएको थियो।

दार्जिलिङकी पेमला लामासँग विवाह गरेका नारायणगोपाल निःसन्तान रहे। पेमलाको पनि निधन भइसकेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *