काठमाडौँ, ३ वैशाख–उपसभामुख रुवि कुमारी ठाकुरले दाइजो लेनदेन हुने कुनै पनि विवाहमा सहभागी नहुने घोषणा गरेकी छन् ।
विवाहको सिजन चलिरहँदा आफूले प्राप्त गरेका निमन्त्रणापत्रमा ‘दहेज मुक्त विवाह’ उल्लेख नभएकोप्रति उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएकी हुन् । समाज अझै पनि दाइजो जस्तो कुरीतिबाट मुक्त हुन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।
उनले दाइजो लिनु–दिनु मात्र होइन, त्यसमा आधारित विवाह स्वीकार गर्नु, कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु समेत सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय भएको बताइन् । यस्तो अभ्यासले महिलाको सम्मान, समानता र अधिकारमा प्रत्यक्ष असर पार्ने उनको भनाइ छ।
समाज परिवर्तनका लागि व्यवहारबाटै सुरुवात गर्नुपर्नेमा जोड दिँदै उनले साना प्रयासले पनि ठूलो रूपान्तरण सम्भव हुने उल्लेख गरिन् ।
उपसभामुख ठाकुरले विवाहका निमन्त्रणापत्रमा अनिवार्य रूपमा ‘दहेज मुक्त विवाह’ तथा ‘दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो’ भन्ने सन्देश समावेश गर्न आग्रह गरेकी छन्। यस्तो सन्देश नभएका वा दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उनले स्पष्ट पारेकी छन्।
दाइजोमुक्त समाज निर्माणका लागि सबैले ठोस् पहल गर्नुपर्नेमा जोड दिँदै उनले अभियानलाई साझा बनाउन आह्वान गरेकी छन्।

