काठमाडौँ, ३ वैशाख–नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पार्टीको एकताभन्दा पनि पार्टीको सुधारमा ध्यान दिनुपर्ने बताएका छन्। उनले पार्टीको पुनर्निर्माणमा विशेष गरी युवा पुस्तालाई सामेल गरिनु अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गरे।
पाण्डेले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका भनाइहरूमा वाम एकताको तात्कालिक दौडधुपको औचित्य र आवश्यकता माथि गम्भीर प्रश्न उठाएका छन् । उनले भने, ‘हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन।’
नेकपा एमालेको ऐतिहासिक विरासत र बलियो आधारलाई स्वीकार्दै, उनले तात्कालिक राजनीतिक लाभको सट्टा दीर्घकालीन योजना र पार्टीको सशक्तिकरणका लागि सोच्न आग्रह गरे। ‘दीर्घकालसम्म यसलाई कसरी सशक्त र एकताबद्ध राख्ने भन्ने सोच्न जरुरी छ,’ पाण्डेले भने।
उनले वाम एकताको विगतका तीतो अनुभवलाई पनि सम्झाउँदै, ‘विगतमा वैचारिक आधारबिना गरिएको एकताको तीतो परिणाम हामीले भोगिसकेका छौँ । हिजो मौन बस्नु हाम्रो गल्ती थियो, तर आज पनि नबोल्नु गम्भीर मूर्खता हुनेछ।’
नेकपा एमालेको भविष्यमा सुधार र पुनर्निर्माणका लागि पाण्डेले पार्टीको संरचनामा युवा र दक्ष व्यक्तिहरूको समावेशलाई अनिवार्य ठानेका छन्।

