सुनसरी, २५ जेठ–यातायात व्यवस्था कार्यालय कोशी (इटहरी) मा ४० करोड भन्दा धेरै रकम भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

यातायात व्यवस्था कार्यालय ९सवारी० कोशीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जनाविरुद्ध राजश्व रकम हिनामिना गरेको अभियोगमा अख्तियारले आज (आइतबार) उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

अख्तियारले कार्यालयका चार पूर्व प्रमुखसहित १७ जनाविरुद्ध ४० करोड ७३ लाख ५० हजार ४३० रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दर्ता गराएको हो ।

अख्तियारले २०७३ चैतदेखि २०७४ असार मसान्तसम्मको अनुसन्धानका क्रममा उपलब्ध भएका तथ्यगत विवरण, प्रमाण कागज समेतका आधारमा सेवाग्राहीहरुबाट संकलित रकम हिनामिना गर्ने १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको जानकारी दिएको छ ।

अख्तियारले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ वमोजिम कैद सजाय र जरिवाना एवम् बिगो असुल गर्न मागदाबी लिई आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् ।

तत्कालीन कार्यालय प्रमुखहरु नयराज नेपाल, तीर्थराज लम्साल, गोपाल थपलिया र भुपेन्द्र राईसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ । मुद्दा चलाइएकामध्ये अधिकांशसँग करोडभन्दा धेरै बिगो माग गरिएको छ ।

अख्तियारले तत्काली कार्यालय प्रमुख नेपालसँग एक करोड ८ लाख २९ हजार ६९ रुपैयाँ बिगो माग गरेको छ । त्यस्तै तत्कालीन कार्यालय प्रमुख थपलियासँग एक करोड ३० लाख ७२ हजार १५३ बिगो माग दाबी गरिएको छ ।

यस्तै तत्कालीन प्रमुख राईसँग ५६ लाख १२ हजार ५ सय ७४, तत्काली लेखअधिकृत टीकाराम अधिकारीसँग १ करोड २५ लाख ४८ हजार ६, तत्कालीन लेखापाल सुरेश अधिकारीसँग ३ करोड ७२ लाख ४४ हजार ७५५, तत्कालीन लेखापाल रुद्रप्रसाद दाहालसँग ३ करोड ४८ लाख ९३ हजार २१६ र तत्कालीन लेखापाल अर्जुन भट्टराईसँग २ करोड १७ लाख ३२ हजार ४७३ बिगो माग दाबी गरिएको छ ।

अख्तियारले चार जना कम्प्युटर अपरेटरहरुसँग जनही ५ करोड ९४ लाख ९८ हजार ९३१ रुपैयाँ बिगो माग दाबी गरेको छ । यस्तै चार जना तत्कालीन कम्प्युटर अपरेटरहरु रमेश पौडेल, भूमिराज अधिकारी, हरिमदन ढुङ्गेल र फोकन वान नेपाल प्रालिका कम्प्युटर अपरेटर राकेश रोशन मर्साङ्गीविरुद्ध जम्मा २३ करोड ७९ लाख ९५ हजार ७२४ रुपैयाँ बिगो दाबी गरिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *