दमक, २१ बैशाख–दमकमा आज गोली लागी घाइते गम्भीर भएकी छात्रा एनिका गजमेर हुन् । उनको शरीरमा लागेको गोली दमकस्थित लाइफ लाइन अस्पतालमा चिकित्सकले निकालेका छन् ।
हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्किँदै गरेकी एनिकाको शुक्रबार दिउँसो सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए ।
उनको नाभि छेउमा गोली लागेको थियो । लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका हुन् । एनिका हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत विद्यार्थी हुन् ।
एनिकाको अवस्था खतरामुक्त रहेको विद्यालयका प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले बताए ।
उनले भने, ‘डाक्टरका अनुसार नानीको अवस्था खतरा मुक्त रहेको छ । गोलीले आन्द्रामा नछोएकाले उपचारमा सहज भएको जानकारी पाएको छु ।’
प्रअ श्रेष्ठका अनुसार उदयपुरकी एनिका ११ कक्षामा अध्ययन गर्न सो विद्यालयमा आएकी थिइन् । घटनामा संलग्न भनिएका यादवले उदयपुरमा शिक्षकको रूपमा कार्यरत थिए । एनिकाले ती व्यक्तिले आफूलाई पढाएको बताएकी छन् ।
अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडिओ सार्वजनिक भएको छ । भिडिओमा एनिकाले आफूलाई उनले पढाएको र दमक आएपछि पनि एक(दुई पटक यादवसँग भेट भएको बताएकी छन् । अहिले यादव कहाँ बस्थे भन्ने बारेमा आफूलाई थाहा नभएको उनको भनाइ छ ।
गोली हान्नुको कारण खुलिसकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।
