सुरुङ्गा, २१ बैशाख–झापाको कनकाई नगरपालिकाको १५औं नगरसभा तथा पाँचौ बैठक सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आज आर्थिक वर्ष २०८०/८१ को १५ औं नगरसभा तथा पाँचौ बैठक सम्पन्न भएको हो ।
बैठकको सुरुमा नै कार्यक्रमका सभा अध्यक्ष तथा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले वडागत रुपमा आर्थिक वर्ष २०८०/८१ को कुनै संसोधित योजना रकमान्तर भए प्रस्तुत गर्न समय दिनुभएको थियो तर कुनै पनि वडाबाट त्यस्तो योजना नआएपछि अन्य विषयमा प्रवेश गर्नुभयो । १५ औं नगरसभा तथा पाँचौ बैठकमा बोल्दै नगर प्रमुख पोखरेलले अहिले जारी हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्न सबै नगरबासीमा आग्रह गर्नुभएको छ।
उक्त, औषधि सेवन नगर्ने नगरबासीमा वडा तथा नगरबाट लिने सबै सुविधाबाट बञ्चित गर्ने प्रस्ताव पनि सर्वसहमत पारित भएको छ । कोशी प्रदेशमा झापा जिल्ला मात्रै बाँकी रहेकाले उक्त रोग निर्मुल नभएकाले यो नै अन्तिम पटक बनाई सबै नगरबासीले हात्तीपाइलेको औषधि सेवन गर्न नगर प्रमुख पोखरेलले आग्रह गर्दै उक्त औषधिसेवन नगर्ने नगरबासीलाई सबै सुविधाबाट बञ्चित गर्ने प्रस्ताव सर्वसहमत पारित भएको हो ।
त्यस्तै, अन्य कनकाई–४ स्थित त्रिवेणी टोल पश्चिम कनकाई नदीको पूर्वी किनारमा नेपाल विद्युत् प्राधिकरणलाई सव–स्टेसन राख्नका लागि खाली १३ कठ्ठा जग्गा नगरले उपलब्ध गर्न गरिएको प्रस्ताव पनि सर्वसहमत प्रस्ताव पारित भएको छ ।
त्यसैगरी, कनकाई-३ मा रहेको कनकाई माध्यमिक विद्यालयमा पहिलो चरणमा ८० जना छात्रछात्राको लागि छुट्टाछुट्टै छात्रवास निर्माणका लागि छायाँ संस्था नेपालको ८० प्रतिशत विद्यालयको ५ प्रतिशत र नगरको १५ प्रतिशत लगानीमा निर्माण गर्न विद्यालयले गरेको प्रस्ताव पनि सर्वसहमत पारित भएको छ ।
नगरप्रमुख पोखरेलले कुनै पनि काम सफल पार्न नगरबासी सबैको साथ सहयोग भएमात्रै सम्भव हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले लक्ष्य अनुसारको राजश्व संङ्गठन, संघीय तथा प्रदेश सरकारबाट आउने रकम पनि ४० प्रतिशतसम्म प्राप्त हुन नसकेकामा प्रयाप्त काम हुन नसकेको स्वीकार गर्नुभएको छ।
बैठकमा आर्थिक वर्षमा हरेक वडामा भएका हालसम्मका प्रगति विवरण समेत प्रस्तुत गरिएको थियो । कनकाई नगर प्रमुख पोखरेलको अध्यक्षता गर्दै सुरु भएको बैठकमा नगर उपप्रमुख आशाशर्मा शिवाकोटीले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत जमुना कटुवाल, १ का अध्यक्ष सुशीलकुमार पोखरेल, २ का अध्यक्ष बलराम राई ‘प्रताप’, ३ का कार्यवाहक अध्यक्ष गोविन्द सुवेदी, ४ का अध्यक्ष रोषन सुवेदी, ५ का अध्यक्ष तथा नगर प्रवक्ता कृष्णबहादुर राई, ६ का कार्यवाहक अध्यक्ष, ७ का अध्यक्ष भीस्मभुषण सिटौला, ८ का अध्यक्ष लीलाबहादुर कटुवाल, ९ का अध्यक्ष राजेन्द्रप्रसाद उप्रेती, कार्यपालिका सदस्य, वडा सदस्य, कृषि शाखा प्रमुख यदुकुमार उप्रेती, नगर प्रमुख पोखरेलका सोकिय सचिव विजय पाठक, ८ का वडा सचिव लगायतको उपस्तिथ रहेको नगरसभाको सञ्चालन कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले गर्नुभएको थियो ।
