बिर्तामोड, २२ बैशाख–नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव हरिबोल गजुरेल (शितलकुमार) ले पार्टी नेतृत्वलाई पूर्वको चेतनासँग जोड्न नसक्दा उत्पन्न परिणामको सामना अहिले गर्नुपरिरहेको बताएका छन् ।

योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) जिल्ला संगठन समितिको छैठौँ भेलाको शनिवार उद्घाटन गर्दै उनले भने, ‘समाजवादउन्मुख संविधान बन्दासम्म स्थिति ठीक थियो, त्यसपछि क्रान्तिको केन्द्र पूर्व बन्यो, तर पूर्वलाई प्राथमिकता नदिँदा यस्तो स्थिति आयो ।’

वाइसीएलका जिल्ला संयोजक राजु दर्नालको अध्यक्षतामा भएको उक्त भेलामा पार्टीको कोशी प्रदेश कमिटी इन्चार्जसमेत रहेका नेता गजुरेलले अब पूर्वको चेतनालाई पार्टीको नीति र विचारसँग जोडेर विधिको विकास गरिने बताए ।

“त्यसो नगर्दा देशमा यस्तो स्थिति पैदा भयो, त्यो नै एउटा गम्भीर गल्ती भयो, त्यतिखेर विवेक पुगेको भए अवस्था अहिले अर्कै भइसक्थ्यो” नेता गजुरेलले थपे, “यसबारे सघन ढंगले बहस शुरु गरेका छौँ ।”

मुलुकले संविधान प्राप्त गर्दासम्मको शक्तिशाली पार्टीको वर्तमान अवस्थाबारे निर्मम समीक्षा गरिएको भन्दै उनले भने, ‘समाजवादी क्रान्तिको केन्द्रसँग पूर्वका जनतालाई जोड्ने सन्दर्भमा अध्यक्ष प्रचण्ड सहमत भइसक्नुभएको छ ।’

संविधान बनेपछि पूर्वको चेतना फैलिँदै पश्चिम पुगेको भए पार्टी र सिँगो देशले अहिलेको अवस्था भोग्नुनपर्ने नेता गजुरेलको भनाई थियो ।

भेलाको उद्घाटन सत्रमा विशिष्ट अतिथि पार्टीका केन्द्रीय सदस्य इन्द्र आङ्बोले गणतन्त्रबाट प्राप्त उपलब्धिलाई शुद्धीकरणसहित संरक्षण गर्नुको साटो नष्ट गर्ने षड्यन्त्र भइरहेको दाबी गरे ।

“राजनीतिक स्थिरता कायम गर्न विधि बनाउनुपर्छ, शासकीय स्वरुप बदल्नुपर्छ” पार्टीको कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका उनले भने, “अब पहिलो राजनीतिक बहस त्यहाँ केन्द्रीत गर्नुपर्छ ।”

उक्त भेलालाई पार्टीका केन्द्रीय सदस्य तथा वाइसीएल नेपालका अध्यक्ष सुबोध श्रीपाली, पार्टी केन्द्रीय सदस्यहरु मुक्साहाङ्ग मेन्याङ्बो, रञ्जित तामाङ, सुशीला घिमिरे (सामना), अजम्बर काङबाङ लगायतले सम्बोधन गरेका थिए ।

सो अवसरमा आयोजकले पूर्वी नेपालमा वाइसीएलको विभिन्न पदीय जिम्मेवारीमा रही कुशलतापूर्वक नेतृत्व गरेका युवा नेताहरुलाई सम्मान गरेको थियो ।

सम्मानित हुनेहरुमा इन्द्र आङ्बो, खड्ग कन्दङ्वा (रोशन), राजु आचार्य (अग्नि), कुलप्रसाद सावाँ (कुशल), अस्मिता तामाङ, डिल्लीराम घिमिरे (हिक्मत), मोहन टुडु, निर्मला खतिवडा (निरु), रञ्जिता जवेगु, मोहन नेम्बाङ (सञ्चार), डम्बर पुलामी .कर्मा), दलबहादुर तामाङ, कुमार आचार्य लगायत छन् ।

सो भेलाको सञ्चालन चर्चित उद्घोषक राजेश घतानीले गरेका थिए । सो भेलाको बन्द सत्रले संगठनको नयाँ नेतृत्व सर्वसम्मतरुपमा चयन गर्ने बताइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *