ताप्लेजुङ, २२ बैशाख–नेकपा (एमाले) का सचिव योगेश भट्टराईले वर्तमान सरकार कहिलेसम्म जान्छ भनेर यकिन गर्न नसकिने बताएका छन् । नेकपा एमाले ताप्लेजुङको १२औं जिल्ला अधिबेशनको शिलशिलामा गृह जिल्ला ताप्लेजुङ आएका भट्टराईले यस्तो बताएका हुन् ।
‘२०८४ को निर्वाचनसम्म गठबन्धन कायम राखेर जाऔं भन्ने सहमति छ र एमाले त्यसैको पक्षमा छ, तर अहिलेको संसद्को गणितको हिसाबले यो सरकार कहिलेसम्म जान्छ ठ्याक्कै भन्न सकिंदैन,’ उनले भने । माधव नेपालप्रति लक्षित गर्दै भट्टराईले एमाले, माओवादी, रास्वपा र जसपाका नेताले बसेर गरेको सहमतिमा अन्य कतिपय नेताले घच्याक घुचुक गर्न खोजेको बताए ।
कतिपयले एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने आशय ब्यक्त गरिरहेको भए पनि त्यो समय घर्किसकेको उनको दाबी छ । ‘हाम्रा अध्यक्ष (केपी शर्मा ओली) ले कांग्रेसलाई धारा ७६ (२) अनुसार सरकार बनाऔँ हामी समर्थन गर्छौ भनेकै हो, तर देउवाले ७६ (३) अनुसारको बनाउन खोज्नु भयो हामीले त्यो दिएनौं,’ उनले भने ।
इलाम र बझाङको निर्वाचनले संसदीय गणितमा फरक नपारे पनि मुलुकको मुख्य प्रतिष्पर्धी दल कांग्रेस र एमाले नै भएको प्रष्ट सन्देश दिएको उनले बताए । ‘मास फ्रष्टेसनको रुपमा कुनै बेला कुनै परिणाम आउन सक्छ, तर त्यो दिगो र टिकाउ हुँदैन । यसअघि नयाँ दलले ल्याएको परिणाम पनि त्यही हो, यो बिश्वभरिनै हुन्छ, तर दिर्घ जीवन हुककदैन, त्यही भएको छ । जनताहरु फेरि पुरानै लयमा फर्कन्छन् र फर्किएका छन्,’ भट्टराईले भने ।
