शेखर कोइराला

बाँके, २२ बैशाख–नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्र नै नरहे के का लागि राजनीति गर्ने भन्दै आफू र राजनीतिक दलभन्दा देश माथि छ भन्ने कुरा आत्मसात गर्ने बेला आएको बताएका छन् । कोइरालाले चौतर्फी रुपमा देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकाले नेताहरुले देशको माटो र जनतालाई सम्झेर संवेदनशील र जिम्मेवार हुनुपर्ने बताए ।

निर्वाचन प्रणाली नै अहिलेको समस्याको मुल जड भएको बताउँदै कोइरालाले निर्वाचन प्रणाली परिवर्तन गरेर देशलाई निकास दिन संघीय संसदको पहिलो दल कांग्रेस र दोस्रो दल एमाले एक ठाउँमा उभिनुपर्ने बताए । २०६४ को संविधानसभापछि लगातार चार जना कम्युनिस्ट प्रधानमन्त्री बन्दा समेत संविधान बन्न नसकेको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने, ‘२०७० को दोस्रो संविधानसभामा जब कांग्रेस र एमाले पहिलो र दोस्रो पार्टी भए, कांग्रेस र एमाले एकै ठाउँमा उभिए, अनि संविधान जारी भयो ।’

कोइरालाले जब देशमा अप्ठ्यारो परिस्थिति आउँछ तब कांग्रेस र एमाले एकै बिन्दुमा उभिएर समस्या समाधान गरेको बताए । बाँकेको कोहलपुरमा आयोजित नेपाली कांग्रेस बाँके क्षेत्र नं–१ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रबि लामिछानेको अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद चल्न नदिने पनि बताए ।

‘हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौं, संसदीय छानबिन बनाऔँ सहकारी ठगीमा उहाँको संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनु हुनेछ तर संसदीय समिति बनाउन सरकार किन डराएको ?,’ कोइराला प्रश्न गरे । कोइरालाले पार्टीका सबै आपसी मनमुटाव र नमिठा बिगत बिर्सेर पार्टी संगठनमा एकजुट हुन स्थानीय नेता एवं कार्यकर्तालाई निर्देशन दिए । पार्टी एक भए कुनै पनि निर्वाचनमा कांग्रेसले गठबन्धनका नाममा कसैको बैशाखीको सहारा लिनु नपर्ने बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *