दमक, १७ जेठ–झापाको कनकाई नगरपालिकाले अपाङ्गता भएकाहरुलाई आत्मनिर्भर बनाउन थालेको छ । नगरले अपाङ्गता भएका नागरिकहरुलाई विभिन्न सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउन थालेको हो । नगरले क्षमता विकासदेखि सीपमूलक तालिम दिइरहेको छ ।
सोही सन्दर्भमा नगरपालिकाको आर्थिक सहयोगमा अपाङ्गता भएकाहरुलाई आत्मनिर्भर बनाउन पाँच दिने कुचो बनाउने तालिम दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठको अध्यक्षता तथा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यमा आज तालिम समापन भएको छ ।
कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उपप्रमुख शिवाकोटीले नगरले अपाङ्गता एवम् फरक क्षमता भएका र लक्षित वर्गलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाँले सिकेको सीपलाई भरपुर उपयोग गरेर आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । “तालिमले उहाँहरुलाई आत्मनिर्भर हुन मद्दत मिल्ने विश्वास लिएका छौं”, उहाँले भन्नुभयो, “तालिम पाउनु ठूलो कुरा होइन, त्यसको उपयोग ठूलो कुरा हो ।”
अपाङ्गता भएकाहरुलाई आत्मनिर्भर बनाउने किसिमको तालिम दिनु सह्रानीय कार्य भएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले आगामी दिनमा समेत यस प्रकारको कार्यलाई प्राथमिकता दिने बताउनुभयो । यस प्रकारको कार्यमा जनप्रतिनिधि, सम्बद्ध संघसंस्था र सरोकारवाला सबैको सहयोग र सहकार्य जरुरी रहेको उहाँको भनाइ थियो ।
नगरप्रमुख राजेन्द्र पोखरेलले अपाङ्गता भएका व्यक्तिहरु, महिला, बालबालिका, ज्येष्ठ नागरिक नगरको पहिलो प्राथमिकताको क्षेत्र भएको बताउनुभयो । “लक्षित वर्गको उत्थान, प्रबद्र्धन एवम् सम्बद्र्धनका लागि नगर रहेक वर्ष नीति तथा कार्यक्रममै समेटेर काम गर्दै आएको छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा समेत नगरले यस्तो कामलाई प्राथमिकतामै राख्छ, कनकाईलाई अपाङ्गमैत्री नगर बनाउन कुनै कसर बाँकी राखिने छैन ।”
नगरका २० जनाको सहभागिता तालिममा अपाङ्गता संघ वडा समिति अध्यक्ष पुष्पलाल घिमिरेले प्रशिक्षण दिइरहनुभएको छ । तालिमले सहभागीलाई व्यावसायिक बन्न सहयोग मिल्ने उहाँले बताउनुभयो । तालिममा सहभागीलाई उपप्रमुख शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ लगायतले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
तालिमको औचित्यमाथि प्रकाश पार्नुहुँदै नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख टिका खतिवडाले नगरले यस प्रकारको कार्यक्रम धेरै गरेको बताउनुभयो । अपाङ्गता भएकाहरु आत्मनिर्भर भएर समाजमा सम्मानपूर्वक जीवनयापन गर्न सक्षम हुन् भन्ने उद्देश्यले कनकाई नगरपालिका र यहाँका वडा कार्यालयहरुले धुप, साबुन, हार्पिक, फिनेल, माला बनाउने लगायतका तालिम दिइसकेको खतिवडाले बताउनुभयो ।
कनकाईमा एक हजार ४८५ जना अपाङ्गता भएका व्यक्तिहरु भए पनि रातो कार्ड लिनेको संख्या ६६७ जना रहेको छ ।
