दमक, ५ असार–दमकमा राजनीतिक, सामाजिक तथा शैक्षिक क्षेत्रका अगुवा प्रविण चाम्लिङ राईले दमक–७ मा अवस्थित आफ्नो निजी जग्गा नगरपालिकाको कार्यालयले मिच्ने प्रयास गरेको बताएका छन् ।
दमक– ७ हाँटखोला बजार निवासी प्रविण चाम्लिङ राईले दमक ७ मा रहेको ३४४६० नम्बरको २ कठ्ठा जग्गामा बाटो (सडक) नभएर स्थानीय मानिसहरुलाई आवात–जावात गर्नेका लागि आली मात्रै भएको र सोही आलीबाट स्थानीयहरु आवत–जावगत गर्ने गरेका बताए । नगरपालिकाले त्यसै जमीनमा भएको आलीलाई बाटो भनेर फैसला गरि आफनो जमीन हडप्ने प्रयास गरेको भन्दै प्रविण चाम्लिङले आक्रोश व्यक्त गरेका छन् ।
चाम्लिङले दमक–७ मा अवस्थित जग्गा स्थलमै पत्रकार सम्मेलन गरि नगरपालिकाको एकपक्षीय निर्णय विरुद्ध आफूले सम्मानित अदालतमा न्यायका लागि निवेदन दिएको बताएका छन् ।
उनका अनुसार त्यही बाटो भनिएको ठाउँ सार्वजनिक बाटो कायम हुनुपर्ने भन्दै स्थानीय केहि व्यक्तिले नगरपालिकाको न्यायिक समितिमा उजुरी गरेकोमा आफूलाई थाहानै नदिई बाटो भनेर फैसाला गरेको छ । यो राजनीतिक इगोका कारण धनीपूर्जा भएको जग्गामा नगरपालिकाको न्यायिक समितिले बाटो भनी प्रहरी लगाएर जग्गाको घेराबारा भत्काउन लगाएको उनको भनाई छ ।
नगरपालिकाले एक पक्षीय निर्णयमा २०६७ सालमा आफूले खरिद गरेको जग्गामा बाटो दिनु भन्नु सरासर गलत भएको उनले बताए । नगरपालिकाले एकलौटी निर्णय गरेको र संविधानले समेत सम्पतिको हक भएकाले आफूले अदालतमा मुद्धा दर्ता गराएको उनको भनाई छ ।
यता, दमक नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिको संयोजक रेगिना भट्टराईका अनुसार स्थानीय संचालन ऐन २०७४ को दफाको ४७ (१) अनुसार दर्ता हुन आएको निवेदन अनुसार दुवै पक्ष बसी छलफल गरी घरजग्गा नक्सा पासको आधारमा निर्णय गरी बाटो खुल्ला गर्ने निर्णय गरेको बताईन् ।
उपप्रमुख भट्टराईका अनुसार पहिलेदेखि नै बाटो रहेको क्षेत्रमा बाटो बन्द गरेको भन्दै परेको उजुरीको आधारमा ऐन अनुसार चलन चल्तीको बाटो प्रयोग गर्न पाउने अधिकारको आधारमा निवेदन उपरको फैसला गरिएको बताईन् ।
नम्बरी जग्गामा बाटो रहेको भएपनि चलनचल्तीको बाटो मास्न नमिल्ने न्यायिक समितिको निर्णय रहेको छ । तर, यता आफूलाई चित नबुझेकाले पुनरावेदन अदालतमा उजुरी गरेको र सो फैसला आफूले मान्ने स्पष्ट पारे ।

