काठमाण्डौं, ५ असार–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न बुधबार निर्वाचन सम्पन्न गरेको छ।

देशभर एकलाख ४६ हजार सात सय १४ संगठित सदस्यमध्येबाट एक हजार चारसय प्रतिनिधिका लागि शान्तिपूर्ण रुपमा निर्वाचन गरिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।

खुला, महिला र दलित गरी एक हजार आठसय ४९ प्रतिनिधि छनोट गरिने व्यवस्था छ। त्यसमध्ये केन्द्रीय कमिटी तीन सय ४६ र केन्द्रीय आयोगबाट एक सय चार जना प्रतिनिधि स्वतः महाधिवेशन प्रतिनिधिका रुपमा चयन भएका छन्।

यही असार १६ देखि २० गते काठमाडौंस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका साथै नयाँ नेतृत्व चयन गर्नेछ। पार्टीले एकसय २५ संगठित सदस्य बराबर एक प्रतिनिधि छनोट गर्ने जनाएको छ। पार्टीले सबै जिल्ला तथा मातहतका कमिटीलाई सम्बन्धित कार्यक्षेत्र, भूगोल तथा योगदानका आधारमा महाधिवेशन प्रतिनिधि छनोट गर्न आजको समयसीमा निर्धारण गरेको थियो।

सबै कमिटीले मनोनयन दर्ता, मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन, मतदाताको नामावली विवरण प्रकाशनलगायत सम्पन्न गरेपछि निर्वाचन गरिएको हो। निर्वाचनको मतपरिणाम भोलिसम्म केन्द्रमा प्राप्त हुने जनाइएको छ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९एमाले० बाट तीन वर्षअघि विद्रोह गरी गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौं राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ।

विसं २००६ मा कोलकातामा स्थापना भएको कम्युनिष्ट पार्टीको राजनीतिक उत्तराधिकारी मानेको एकीकृत समाजवादी पार्टीले अहिलेसम्म सम्पन्न भएका नौ वटा अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौं मानेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *