झलनाथ खनाल

काठमाडौँ, ७ असार–नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको आसन्न राष्ट्रिय महाअधिवेशनले वैज्ञानिक समाजवादको कार्यक्रमलाई पारित गराउने बताएका छन्।

महाधिवेशन प्रतिनिधि छनौट गर्न देश र प्रवासमा निर्वाचन सम्पन्न भएपछि नेता खनालले आज एक सन्देश जारी गर्दै पार्टीलाई वैचारिक र सङ्गठनात्मक दुवै हिसाबले सक्षम र गतिशील नेतृत्व निर्माण गर्न महाअधिवेशन ऐतिहासिक हुने उल्लेख गरे।

उक्त महाधिवेशनले समाजवादी क्रान्ति र रूपान्तरणको ऐतिहासिक कार्यक्रमलगायत दस्तावेज पारित गर्ने बताउँदै नेता खनालले देश र जनतालाई यथास्थितिवादबाट मुक्त गराउन कम्युनिष्ट आन्दोलनको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन निर्वाचित सबै प्रतिनिधिको ठूलो जिम्मेवारी हुने उनको भनाइ छ। उनले भने, “पार्टीका कार्यदिशा, नीति र सिद्धान्तलाई क्रान्तिकारी जगमा उठाउन, समाजवादी क्रान्तिलाई मार्गदर्शन गर्नेछ। त्यसैका आधारमा हाम्रो पार्टीको कार्यदिशा, नीति र सिद्धान्तहरू परिष्कृत र परिमार्जित हुँदै जानेछन्।”

करिब एक हजार चार सय प्रतिनिधि छनोटका लागि निर्वाचन सम्पन्न गरिएको छ। यही असार १६ गते काठमाडौँमा पार्टीको महाधिवेशन हुँदैछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *