झिलझिले, ९ असार–झापाको झिलझिलेस्थित सम्झाना चोकदेखि उत्तरमा अवस्थित खेल मैदानमा बृक्षारोपण गरिएको छ । शिबसताक्षी–८ सम्झाना चोकस्थित बोका जुनियर फुटबल क्लबले निर्माण गरेको खेल मैदानमा क्लबका पदाधिकारी र सदस्यहरु, खेलाडीहरु र स्थानीयले बृक्षारोपण गरिएको हो ।
क्लबका संयोजक सुवास मेन्याङ्बोका अनुसार खेल मैदानको आसपासका क्षेत्रमा दुई सय भन्दा धेरै फलफूल तथा अन्य जातका विरुवाहरु रोपिएको छ । क्लब संयोजक मेन्याङ्बोले फेस नेपालको सहयोगमा वृक्षारोपण गरिएको र सो मैदानमा वर–पिपल, आँप, लिची, रातो फूल्ने सिरिस, जेकर अण्डाका विरुवाहरु रोपिएको बताए ।
पूर्वपश्चिम राजमार्गको उत्तरमा अवस्थित रतुवामाई बृक्षारोपण आयोजनाको बन क्षेत्रमा रहेको खाली जमिनमा स्थानीय खेलप्रेमीहरुले खेलमैदानको रुपमा प्रयोग गर्दै आइरहेका छन् । वर्षौ–वर्षदेखि रुख विरुवाहरु नभएको खाली जमिनमा खेलप्रेमी युवाहरुले फुटबल, क्रिकेट लगायतका खेलहरु खेल्दै आइरहेका छन् । पछिल्लो समय सो खेल मैदान शिबसताक्षी नगरभरीको व्यवस्थित र उत्कृष्ट खेल मैदानको रुपमा निर्माण गर्न यहाँका खेलाडीहरु र क्लबका सम्पूर्ण टिम लागिपरेको मेन्याङबो बताउँछन् ।
क्लबले केही महिना अघि प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गरेको थियो । क्लबले क्लबमा नयाँ खेलाडीहरुको खेल विकास, सीप विकास, अनुभव आदानप्रदान गर्ने उदेश्यले सो प्रतियोगिता आयोजना गरेको हो, मेन्याङ्बोले भने । उनका अनृुसार क्लबमा आर्थिक कोषलाई समेत बलियो बनाउनका लागि प्रतियोगिताले ठूलो सहयोग पुगेको छ ।
क्लबमा अहिले मैदान सफा गर्ने, घाँस काट्ने यन्त्र (एक थान मेशिन) गोल पोष्ट जाली लगायतका विभिन्न सामाग्रीहरु रहेको मेन्याङ्बोले बताए । क्लबका पूर्व खेलाडीहरु हाल रोजगारको शिलशिलामा विभिन्न मुलुकहरुमा रहेका र उनीहरुको सहयोगमा क्लबले रचनात्मक कार्यक्रमहरु सञ्चालन गरिहेको छ ।
क्लबको संयोजकमा सुवास मेन्याङ्बो लिम्बू, उपाध्यक्ष प्रज्वल इजम, उपाध्यक्ष हिलिहाङ मेन्याङ्बो, सचिव अर्जुन लक्समबा र आर्थिक संयोजकमा सुनिल योङहाङ छन् । त्यसैगरी, अन्य स्थानीय युवाहरुले क्लबको जिम्मेवारीमा रहेर काम गरिरहेका छन् ।
