काठमाडौं, १३ असार–नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सहमति भएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको ८९ औं सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय सदस्य रहने व्यवस्था गर्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार महाधिवेशन हलबाट अनुमोदन हुने गरी केन्द्रीय समिति २९९ सदस्यीय बनाउने निर्णय भएको छ। यसअघि १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय भएको थियो।

साथै उनले पार्टीमा अहिले रहेको सम्मानित नेताको पद पनि कायमै राख्ने सहमति भएको छ भने वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिनेछ।

साथै केन्द्रीय उपाध्यक्षमा महिला सिट सुरक्षित रहने व्यवस्था गरिएको उनले बताए।

उनकाअनुसार महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि पाँच प्रतिशत मनोनीत गर्ने व्यवस्था रहे पनि त्यो मनोनीत नगर्ने सहमति भएको छ।

‘पार्टीमा एक अध्यक्ष र एक महासचिव रहने व्यवस्था छ। आवश्यकताअनुसार वरिष्ठ नेताको पद सिर्जना गरिनेछ,’ उनले भने।

१० औं महाधिवेशन तयारीबारे असार १५ गते पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिइने उनको भनाइ छ।

खतिवडाका अनुसार सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारी छ। यदि प्रतिस्पर्धा भयो भने पनि त्यसलाई स्वीकार गरेर गइने उनले बताएका छन्। तर अधिकांश महाधिवेशन प्रतिनिधिको धारणा सहमतिबाटै नेतृत्व चयनको रहेको उनले बताएका छन्।

एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, झलनाथ खनाल र घनश्याम भूसाल उठ्ने चर्चा भइरहेको छ।

अध्यक्ष नेपालले आफूलाई एक कार्यकाल सहयोग गर्न नेताहरूलाई भनेका छन् भने खनालले आफू नलडेका खण्डमा भूसाललाई समर्थन गर्न खोजेका छन्। प्रवक्ता खतिवडाले सर्वसम्मत तरिकाबाट नेतृत्व चयन गर्न पहल भइरहेको पनि बताए।

८० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू नेतृत्वमा प्रतिस्पर्धा नभई सहमति होस् भन्ने पक्षमा रहेको खतिवडाले दाबी गरे।

यही असार १६ गतेदेखि २० गतेसम्म एकीकृत समाजवादीले काठमाडौंमा महाधिवेशन गर्दैछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *