काठमाडौं, १४ असार–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गरेर न्यायाचित काम गरेको जिकिर गरेका छन् । आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एमाले) बाट विद्रोह गर्नुको अर्को कुनै विकल्प नभएको बताएका हुन् ।
उनले एमालेबाट विद्रोह गरेर आफूहरुले संविधान बचाएको र राजनीतिक स्थिरता कायम गरेको दावी गरे । उनले आफूहरुले मुलुकलाई सही दिशामा अगाडि बढाउन भूमिका निर्वाह गरेको भन्दै विद्रोह गरेर सही र न्यायोचित काम गरेको बताए । उनले एमालेबाट विद्रोह नगरेको भए आफूहरु गल्लीमा भड्किइरहेको अवस्थामा हुने बताएका छन् । उनले आफूहरुले आत्मसर्मपण नगरेको बताए ।
उनले भने, ‘विद्रोह बाहेक अर्को कुनै विकल्प थिएन । विद्रोह गरेर संविधान बचायौं हामीले । विद्रोह गरेर राजनीतिक स्थिरता कायम गर्यौँ, विद्रोह गरेर हामीले मुलुकलाई सही दिशामा अगाडि बढाउनका लागि भूमिका निर्वाह गर्यौं । अत्यन्तै सही काम गर्यौं । कम्युनिष्ट आन्दोलनलाई जोगायौँ । गलत प्रवृत्तिविरुद्धमा जुध्यौँ । आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन फेरि पनि पार्टीलाई क्रान्तिकारीकरण गर्नका लागि नयाँ पार्टी निर्माण गर्यौं । नयाँ पार्टी गठन गरेर, विद्रोह गरेर न्यायोचित काम गर्यौं । नभए हामी हराइसकेका हुन्थ्यौं । हामीले गल्लीमा भड्किइरहनु पर्ने स्थिति बन्थ्यो । आत्मसर्मपण गर्नुपर्ने अवस्था बन्थ्यो । हामीले ती सबै कुराहरुलाई स्वीकार गरेनौँ । हामीले समर्पण गरेनौँ । धेरै मान्छेलाई निराश हुनबाट जोगायौँ । कम्युनिष्ट आन्दोलनलाई निरन्तरता दियौँ । सिंगो देशमा हाम्रो छुट्टै उपस्थिति अहिलेसम्म देखाएका छौँ । हाम्रो भुमिकालाई स्थापित गरेका छौँ ।’
अध्यक्ष नेपालले पार्टीले आफ्नो छुट्टै उपस्थिति देखाएको र आफ्नो भूमिकालाई स्थापित गरेको बताए । उनले संसदमा कम सिट आउना साथ आत्तिनु नपर्ने बताएका छन् । आगामी दिनमा पार्टीको सिट संख्या बढ्ने उनको भनाइ छ ।

