चितवन, १४ असार–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल वामपन्थी एकता सम्भव नरहेको बताएका छन् । विगतमा वाम एकतापछि नराम्रो दुर्घटना भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले हतारमा वामपन्थी एकता गरेर पुरानै घटना नदोहोर्याउने बताए ।
चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा दाहालले वाम एकताभन्दा राजनीतिक स्थायित्वलाई बढी जोड दिएको बताए । ‘तत्काल र हतारमा वामपन्थी एकता गर्ने पक्षमा छैनौं । राम्रो उत्साह आएर पनि विगतमा दुर्घटना भयो,’ उनले भने, ‘अहिले नै पार्टी एकता र वाम एकता भनेर फेरि पुरानै दुर्घटना नहोस् भन्नेमा सचेत छौं । सतर्कताका साथ हामी अघि बढेका छौं । त्यसकारण अहिले पार्टी एकता या वाम एकताभन्दा राजनीतिक स्थायित्वलाई र लोकतन्त्र सुदृढीकरणलाई बढी जोड दिँदै जाने भन्ने हो ।’
प्रचण्डले मन्त्रीहरूले सोचेअनुसारको गति दिन नसकेको बताए । जनताले प्रत्यक्ष अनुभूति हुनेगरी परिणाम दिन नसकेको गुनासो गरे । ‘समग्रमा अहिलेको परिस्थितिमा हामीले गर्नसक्ने काम मिहिनेतका साथ गरेका छौं,’ प्रचण्डले भने, ‘मन्त्रालयका आफ्ना जटिलताहरू पनि छन् ।
मन्त्रीहरूले प्रधानमन्त्रीको निर्देशन पालन नगरेको स्थिति होइन । तर, जति गति लिनुपर्ने हो त्यति गति लिएको छैन । जनताले प्रत्यक्ष अनुभूत गर्नेगरी परिणाम देखिन पर्यो ।’ प्रधानमन्त्री असार १५ को राष्ट्रिय धान दिवसमा सहभागी हुन चितवन आएका हुन् ।

