भद्रपुर, २८ असार–झापा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको छ । जिल्ला समन्वय समिति झापाको सभाहलमा आज आयोजित ‘झापा जिल्ला पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा एवम् महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका सम्मानजनक बिदाइ कार्यक्रम’का बीच झापा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले झापा जिल्ला पूर्ण खोप जिल्ला भएको घोषणा गर्नुभएको थियो । पूर्ण खोप घोषणापछि प्रतिबद्धता पत्रमा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका स्वास्थ्य मन्त्री राजेन्द्र कार्की लगायतका अतिथि हस्ताक्षर गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री कार्कीले पूर्ण खोप जिल्ला घोषणामा ग्रामीण क्षेत्रमा अहोरात्र क्रियाशील स्वास्थ्य स्वयम्सेविकाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । “स्वास्थ्य क्षेत्रमा महिला स्वयम्सेविकाको भूमिका महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “स्वस्थ्य समाज र राष्ट्र निर्माणमा उहाँहरुको योगदान उच्च छ ।” मन्त्री कार्कीले असार ३० गते कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषण गर्न लागिएको समेत जानकारी दिनुभयो ।

कार्यक्रममा जिसस प्रमुख विश्वनाथ बरालले महिला स्वास्थ्य स्वयम् सेविकाको पक्षमा तीनै तहको सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले न्यून सेवा सुविधामा आमनागरिकको घरघरमा सेवा पुर्याउने स्वास्थ्य स्वयम्सेविकाको भूमिका उदाहरणीय भएको बताउनुभयो ।

कार्यक्रममा ६० वर्ष पूरा भएका जिल्लाभरिका २६ जना स्वास्थ्य स्वयम्सेविकालाई सम्मान–पत्रसहित बिदाइ गरिएको थियो । उनीहरुलाई जनही रू २० हजारसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

यस्तै, खोप अभियानमा उत्कृष्ट कार्य गर्ने १५ जना स्वास्थ्यकर्मी र १५ वटा स्वास्थ्य संस्था सम्मान गरिएको थियो भने १५ वटै पालिकालाई पूर्ण खोपको प्रमाण पत्र प्रदान गरिएको थियो । सम्मानित सबैलाई प्रमुख अतिथि स्वास्थ्य मन्त्री कार्की, जिसस प्रमुख बराल, स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी लगायतले सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा खोप प्रगतिका बारेमा स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी जानकारी गराउनुभएको थियो । बालबालिकालाई दुई वटा खोपबाट शुरु भएको खोप अभियान हाल १३ वटा पुगेको र सरकारले निकट भविष्यमै पाठेघरको क्यान्सरविरुद्धको खोप लगायने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने आचार्य, अवकासप्राप्त स्वयम्सेविका रेश्मा विष्टले शुभकामना मन्तव्य राख्नुभएको थियो । जिसस प्रमुख बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले गर्नुभएको थियो भने सञ्चालन कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा झापाका १५ वटै पालिकाका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष, सरकारी कार्यालय, सुरक्षा निकायका प्रतिनिधि, स्वास्थ्यस्वयम्सेविका, स्वास्थ्यकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *