काठमाडौँ, २३ वैशाख–राजधानीको व्यस्त व्यापारिक केन्द्र इन्द्रचोकमा दिउँसै पेस्तोल देखाएर सुनचाँदी पसल लुट्न खोज्ने तीनजना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मंगलबार ‘नैना एन्ड इशान ज्वेलरी’ मा भएको उक्त लुटपाटको प्रयासलाई पसल सञ्चालक बबिता रौनियारको साहसपूर्ण प्रतिकारले लुट्न खोज्नेहरु विफल भएका थिए।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–६ निवासी २९ वर्षीय हरिकृष्ण महर्जन, विकेश राजवाहक र अरुण भुजेल रहेका छन्। उनीहरूलाई घटनाको अनुसन्धान र खोजीका क्रममा गएराति प्रहरीले फेला पारेको एसएसपी सन्तोष खड्काले जानकारी दिए।
पक्राउ परेकामध्ये अरुण भुजेलको साथबाट लुटपाटमा प्रयोग गरिएको पेस्तोल समेत प्रहरीले बरामद गरेको छ। अर्का आरोपी हरिकृष्ण महर्जनले भने पक्राउबाट बच्न घटनास्थल नजिकै लुगा फालेर आफ्नो हुलिया बदलेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
सञ्चालकको प्रतिकारपछि भागेका उनीहरूलाई प्रहरीले सीसीटीभी फुटेज र प्राविधिक विश्लेषणका आधारमा पक्राउ गर्न सफल भएको हो। अहिले उनीहरूमाथि थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
