दुधे, २८ कात्तिक–शिवसताक्षी नगरपालिकाको दूधेमा निर्माणधिन नगर स्तरीय खेल मैदान अन्तिम तयारीमा रहेको छ । खेल मैदानका लागि रोपिएको झार हरियो भएको छ ।
हाल खेल मैदानमा मञ्च र चेञ्जिङ रुमको निर्माण भइरहेको छ । खेल मैदान चार बर्षभित्र पूर्णरुपमा तयार पार्ने लक्ष्य लिएको छ ।
खेल मैदानमा प्याराफिटको काम सम्पन्न भएपछि एकै पटक २५ हजार दर्शकले खेलको हेर्न सक्ने छन् ।
पछिल्लोसमय नगरपालिकाले खेलकुदप्रेमीको भावना अनुसार स्थानीय र केन्द्रिय बजेटसमेतको माग गरी खेल मैदान निर्माणको कामअघि बढाएको छ । नगरपालिका र जनसहभागितामा खेल मैदान निर्माणको काम धमाधम भइरहेको हो । स्थानीयले खेल मैदान निर्माणमा साथ दिंदा बहुबर्षे योजना अगाडि बढ्न सम्भव भएको हो ।
खेल मैदानमा प्याराफिट निर्माणको लागि मञ्च र चेञ्जिङरुम निर्माणका लागि १ करोड १० लाख रुपैंयाँ बजेट अघिल्लो आर्थिक वर्षमा विनियोजन भएकामा स्टेजसहितको प्याराफिटको संरचना निर्माण गरिसकेको छ ।
चालु आर्थिक वर्षमा नगरबाट ५० लाख बजेट विनियोजन भएको छ । चालु आवमा भिआईपी बस्नेस्थलमा ट्रष्टको छानो लगाउने र प्याराफिट दक्षिणतर्फ अर्को प्याराफिट र शौचालय निर्माण हुने भएको छ । यस वर्ष खेल मैदान र प्याराफिटको काम सम्पन्न गरेर आगामी वर्षदेखि खेल सञ्चालन गरिने भएको छ ।
नगरकै गौरवको आयोजनालाई समयमै गुस्तरीय काम गर्न समय–समयमा अनुगमन गरिदै आएको छ । खेल मैदानमा एक महिना अघि रोपिएका झार हरियो अवस्थामा आइसकेको छ । झारलाई दैनिक पानी हाल्ने काम भइरहेको छ ।
दमकदेखि माइधारसम्मको सो क्षेत्रमा दर्जनौ खेलमैदान भएपनि ब्यवस्थित नहुँदा ठूला प्रतियोगिता आयोजना गर्न कठिनाइ हुँदै आएको छ । पाडाजुँगीमा आदिवासी जनजाति रंगशाला निर्माण हुने चर्चा चलेपनि राजनीतिक बिवादका कारण निर्माणमा ढिलाई भएको छ ।
