रवि लामिछाने

कास्की, २३ मंसिर । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेमाथि अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा उपस्थित गराइएको हो ।

लामिछानेमाथि अनुसन्धान गर्न पछिल्लो पटक गत मंसिर ९ गते कास्की जिल्ला अदालतले १५ दिनको समय दिएको थियो । अदालतले दिएको समय शुक्रबार राति सकिए पनि हिजो शनिबार परेकाले लामिछानेलाई छैटौं पटक म्याद थप्नका लागि आज अदालतमा पेश गरिएको हो ।

रविमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा अनुसन्धान बाँकी रहेकाले सरकारी वकील कार्यालयले थप समय माग्ने तयारी गरेको सहकारी पीडितका तर्फबाट वकालत गर्दै आउनु भएका अधिवक्ता युवराज पराजुलीले बताए । अनुसन्धान अधिकारीलाई सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी प्रावधान छ ।

रविसँगै पूर्व प्रहरी डीआईजी छविलाल जोशी, रकम अपचलनमा सहयोग गरेको आरोपमा पक्राउ परेकी लीला पछाई, नेचर हर्ब्स इन्टरनेशनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालक एवं शेयरधनी रामबहादुर खनाललाई पनि अदालतमा पेश गरिने प्रहरीले जनाएको छ । जोशी गोर्खा मिडियाका पूर्व उपाध्यक्ष हुन् ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अवैध रूपमा गोर्खा मिडिया प्रालिमा लगेको भन्दै ग्यालेक्सी टेलिभिजनका पूर्व सञ्चालक तथा प्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो । यसबीचमा प्रहरीले गोर्खा मिडियाका संचालकहरू रवि, छवि र कुमार रम्तेल लगायतलाई पक्राउ पुर्जी जारी भएका बुटवल, चितवन, काठमाडौंमा बयान गराई पोखरा ल्याएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *