शेखर कोइराला

काठमाडौ‌, २४ मंसिर । नेपाली कांग्रेसका नेताहरूले असन्तुष्टि भए पार्टीभित्रै राख्न नेता शेखर कोइरालालाई सुझाव दिएका छन् । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज (सोमबार) बिहान बसेको बैठकमा कोइरालाले केही विषयमा असन्तुष्टि जनाउँदा पार्टीका निकायभित्र नभई सार्वजनिक रूपमा व्यक्त गर्ने गरेको विषयमा चर्चा भएको थियो।

हालै कोशी प्रदेशको प्रथम सम्मेलनमा कोइराला सहभागी भएनन् । उनी चितवनमा आयोजित शोकसभामा गएका थिए । त्यसअघि उनले कोशीका पालिका सभापतिस्तरीय प्रशिक्षण गरेका थिए । उक्त प्रशिक्षण आधिकारिक नभएको केन्द्रीय कार्यालयले पत्र नै पठाएको थियो ।

आफ्नो अगुवाइमा भएको कार्यक्रमलाई केन्द्रीय कार्यालयले आधिकारिक नभएको व्यहोराको पत्र पठाएपछि आफूलाई चित्त दुखेको कोइरालाको गुनासो थियो । कोइरालाले कोशी सम्मेलन बहिष्कार नगरेको चितवनमा प्रष्टीकरण दिएका थिए ।

सोमबारको कार्यसम्पादन समिति बैठकमा यिनै विषयलाई लिएर कोइरालालाई नेताहरूले कुनै सुझाव वा असन्तुष्टि भए पार्टीभित्रै राख्न आग्रह गरेका हुन् । ‘पार्टी पंक्तिका बीचमा हामी एकताबद्ध भएर जानुपर्छ, कुनै मनमुटाव वा असन्तुष्टि कुनै नेताको छ भने पार्टीकै निकायमा छलफल गर्नुपर्छ, कांग्रेसभित्र ठूलो मतभिन्नता रहेछ भन्ने किसिमले बाहिर प्रस्तु हुनु हुँदैन भन्ने कुरानै बैठकमा अभिव्यक्त गर्ने साथीहरूले राख्नुभएको छ,’ कार्यसम्पादन समिति बैठकपछि प्रवक्ता प्रकाशशरण महतले भने ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *