काठमाडौं, २५ मंसिर । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पर्सामा बयान सकिएको छ ।
आज (मंगलबार) एकै दिनमा उनको बयान सकिएको हो । पर्साबाट उनलाई फेरि जिल्ला प्रहरी कार्यालय, कास्कीमा पठाइनेछ । पर्सामा सरकारी वकिलको रोहबरमा प्रहरीले लामिछानेलाई ५४ प्रश्न सोधेको थियो ।
रविलाई बिहान ९ बजे बयानका लागि लगिएको थियो । केहीबेर बयान लिएर खाना खुवाउन जिल्ला प्रहरी कार्यालय ल्याइयो । त्यसपछि फेरि सरकारी वकिल कार्यालय लगेर बयानलाई निरन्तरता दिइयो । बेलुका ५ बजेतिर बयान सकिएको हो । अहिले उनलाई फेरि जिप्रकाको हिरासतमा राखिएको छ । रविले आजको बयानमा अधिकांश रेडिमेड र पुरानै प्रश्नहरु सोधिएको गुनासो गरेका छन् ।
रविलाई बयान लिँदै गर्दा रास्वपा समर्थकहरुले प्रदर्शन गरेका थिए । बयानका लागि उनलाई सोमबार पोखराबाट काठमाडौं हुँदै पर्सा लगिएको थियो । लामिछानेको बयान सकिएकाले भोलि पोखरा फिर्ता पठाइने पर्सा प्रहरी प्रवक्ता, डीएसपी किशोर लम्सालले बताए ।
पर्साको वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा रविसँग बयान लिइएको हो । उक्त सहकारीबाट रवि गोर्खा मिडिया नेटवर्कको प्रबन्धन निर्देशक एवं शेयर सदस्य हुँदा बचत रकम ल्याएर अपचलन गरेको आरोप छ । यही प्रकरणमा जोडिएका प्रहरीका पूर्व डीआईजी छविलाल जोशीसँग पर्सामा रविको भन्दा अघि बयान भइसकेको छ ।
सहकारीको रकम आउँदा छवि पनि गोर्खा मिडिया नेटवर्कमा सञ्चालक थिए । प्रहरीले यसअघि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पोखरा, स्वर्णलक्ष्मी सहकारी ठगीमा काठमाडौं र सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको अनियमिततामा लामिछानेको बयान दिइसकेको छ । लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेर सोही दिन पोखरा लगिएका थिए ।