काठमाडौं, २७ मंसिर । नेकपा (एकीकृत समाजवादी) ले १०औं महाधिवेशनमा विभिन्न पदमा पराजित भएका नेतासमेत थपेर स्थायी कमिटी सदस्य ४१ पुर्‍याएको छ।

अध्यक्ष १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव ४, सचिव ७, वरिष्ठ ३ र सम्मानित १ गरेर २४ सदस्यीय पदाधिकारी स्वतः स्थायी कमिटी सदस्य रहन्छन्। त्यसमा रामकुमारी झाँक्री, डा। विजय पौडेल, जीवनराम श्रेष्ठ सहित १७ नेतालाई थप गरिएको हो।

बुधबार बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए।

स्थायी कमिटी सदस्य बनाइएका नेताको जिम्मेवारी शुक्रबार बस्ने बैठकले तोक्ने उनले बताए।

‘पहिले पदाधिकारी हुनुहुन्थ्यो, उहाँहरूमध्ये कोही अस्ति चुनाव हार्नुभयो। कोही लड्नुभएन। उहाँहरूलाई स्थायी कमिटी सदस्य बनाइएको छ,’ उनले नेपालखबरसँग भने, ‘भोलि उहाँहरूसँगै बसेर कार्यविभाजन गर्छौँ।’

गएको असार १६ देखि २० मा सम्पन्न दसौँ महाधिवेशनले एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल चयन गरेको थियो।

बाँकी पदाधिकारीको चयन गर्न भदौ ९–१२ मा केन्द्रीय कमिटी बैठक बस्यो।

वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे निर्विरोध निर्वाचित हुँदा बाँकी १७ पदाधिकारीका लागि मतदान भएको थियो।

सचिव रहेकी झाँक्री उपाध्यक्षमा हारिन्। यस्तै, उपमहासचिव रहेका डा। पौडेल पनि उपाध्यक्षमा पराजित भएका थिए। विरोध खतिवडा पनि उपाध्यक्षमा हारेका थिए। मधेसी उपाध्यक्षमा रामचन्द्र झा हारेका थिए।

तर, पोलिटब्युरो सदस्यका लागि भएको निर्वाचनमा झाँक्री सहितका नेताहरू निर्वाचित भएका थिए। स्थायी कमिटीका लागि एकीकृत समाजवादीले निर्वाचन नगरी स्वतः चयन गरेको हो।

जिम्मेवारी बाँडफाँटमा चर्को विवाद
एकीकृत समाजवादीको महाधिवेशन सकिएको पाँच महिना बितिसकेको छ। पदाधिकारी चयनमा लामो समय बिताएको समाजवादीले नेताहरूको जिम्मेवारी बाँडफाँट अझै गर्न सकेको छैन। उपाध्यक्षहरू धर्मनाथ शाह, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, गंगालाल तुलाधर र भानुभक्त जोशीदेखि उपमहासचिव गरिमा शाह, राजेन्द्र राई, मेटमणि चौधरी र रामकुमार भट्टराईले पनि जिम्मेवारी पाएका छैनन्।

यस्तै, बलदेव चौधरी, गणेश विक, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्रा भुसाल र श्रीनाथ बराल लगायतका सचिवलाई पनि जिम्मेवारी दिइएको छैन।

यी नेताबीच विभागको नेतृत्व लिन हानथाप चलिरहेको छ।

त्यसमध्ये संगठन विभागमा महासचिव घनश्याम भुसाल र वरिष्ठ नेता वेदुराम भुसाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले दाबी गरेका छन्।

कार्यविभाजनमा सकस परेपछि समाधानको लागि अध्यक्ष माधवकुमार नेपालले आफ्नै नेतृत्वमा सात सदस्यीय कार्यदल बनाएका छन्।

तर, सम्मानित नेता झलनाथ खनाललाई विदेश विभाग र प्रमेश हमाललाई स्कुल विभाग दिने सहमति जुटिसकेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *