नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव

काठमाडौं, ३ पुुुुस–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता हुने भएको छ । कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा हिजो मंगलबार सकिएको नेकपा केन्द्रीय समितिको छैटौं पूर्ण बैठकले संसदीय चुनावमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

यसअघि नेकपाले चुनावलाई बुर्जुवा भन्दै चुनाव बहिष्कार गर्दै आएको थियो । ०८४ को निर्वाचनलाई लक्षित गरी देशव्यापी अभियान चलाउने निर्णय बैठकले गरेको छ । कम्युनिष्टबीच ध्रुवीकरण र पार्टी एकताको पहल गर्ने, माघ ५ गतेदेखि १ महिने पूर्वदेखि पश्चिमसम्म जनपरिचालन अभियान चलाउने, पार्टीलाई उत्पादनमा लगाउने लगायत निर्णय बैठकले गरेको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कारण माओवादी केन्द्रसँगको एकतामा ढिलाइ भएको निष्कर्ष निकाल्दै बैठकले तत्काल माओवादी–नेकपा एकता नभए विचार संश्लेषणका लागि ६ महिनाभित्र विशेष महाधिवेशन वा राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले महासचिव नेत्र विक्रम चन्द विप्लवले पेस गरेको राजनीतिक, सांगठनिक र आगामी योजनाको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । मंसिर २७ गतेदेखि सुरु भएको नेकपा केन्द्रीय समिति बैठक पुस २ गते सकिएको हो ।

बैठकले गरेका निर्णय केही दिनपछि काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने नेकपाले जनाएको छ । केपी शर्मा ओली यसअघि प्रधानमन्त्री हुँदा २०७७ फागुनमा विप्लवलाई मूलधारमा ल्याएका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *