काठमाडौं, २६ जेठ–भारतले नेपालका सात जिल्लामा ५६ वटा विद्यालय पुननिर्माण गर्न ३ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ। नेपालका गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनर्निर्माणमा भारतले सहयोग गर्न लागेको हो।
भारतीय राजदूतावास तथा नेपाल सरकार शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले यससम्बन्धी ७ वटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। नेपालमा भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत भारत सरकारको नेपाली रुपैयाँ २ अर्ब ९५ करोड आर्थिक सहयोगमा यी विद्यालयका भवन बनाइनेछ। भूकम्प प्रतिरोधी क्षमतासहितका विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्डअनुसार पुनर्निर्माण हुनेछन्।
विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा पनि छन्। भूकम्प प्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालय भवनका लागि प्राविधिक सहयोग प्रदान गर्नेछन्।