दमक, २१ पुस–धुलाबारी, झापाका सहकारीकर्मी बिशेश्वरप्रसाद भट्टराई (बीपी) द्धारा लिखित ‘सामान्य सहकारी’ नामक पुस्तकको आज बिर्तामोडमा लोकार्पण गरिएको छ ।
सो पुस्तकको जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपाने, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष गिरीले लोकार्पण गर्नुभएको हो ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाको १३औं वार्षिक साधारणसभामा सो पुस्तकको लोकार्पणपछि पत्रकार सन्तोष आचार्यले पुस्तकमाथि आफ्नो टिप्पणी राख्नुभएको थियो । वहाँ, मेचीनगरको धुलाबारीमा सञ्चालित पूर्वीद्धार सहकारी संस्थाका अध्यक्ष हुनुहुन्छ ।
सदस्य शिक्षाका लागि सहयोगी पुस्तकको रुपमा तयार पारिएको सो पुस्तकका लेखक बीपी भट्टराई झापाको सहकारी क्षेत्रमा लामो समयदेखि सक्रिय हुनुहन्छ । लेखक भट्टराई जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष, बचत संघ कोशी प्रदेशको कोषाध्यक्ष, नेफस्कुनको दमक फिल्ड कार्यालय सदस्य हुनुहुन्छ ।
वार्षिक साधारणसभाका प्रमुख अतिथि सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत एबम् राष्ट्रिय सहकारी बैंकका अध्यक्ष गिरी, झापा जिल्ला सहकारी संघ, लेखा सुपरीवेक्षण समितिका संयोजक चूडामणि ओझा, बिर्तामोड नगर सहकारी विभाग प्रमुख मोहन सुवेदीलगायतले आ–आफ्नो बिचारहरु राख्नुभएको थियो ।
सो बार्षिक साधारणसभा बचततर्फ उत्कृष्ट कारोबार गर्ने झापा गाउँपालिकास्थित पाथीभरा बचत तथा ऋण सहकारी संस्था र कर्जातर्फ बिर्तामोड ४ स्थित जनशक्ति बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष गिरी, बचत तथा ऋण सहकारी संघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष चन्द्रा खड्का भट्टराई र बचत संघ कोशी प्रदेशका कोषाध्यक्ष विश्वेश्वरप्रसाद भट्टराई (वीपी) लाई बार्षिक साधारणसभमा सम्मान गरिएको थियो ।
बचत तथा ऋण सहकारी संघ झापाका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव यामकुमार चुडालले गरेका थिए । बचत तथा ऋणको कारोबार गर्ने १५९ वटा सहकारी सो संघमा आवद्ध रहेका छन् ।
