वर्षमान पुन

खोटाङ, १ फागुन–नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकता हुन सक्ने बताएका छन् ।

३०औं जनयुद्ध दिवसका अवसरमा बिहीबार खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै पुनले समाजवादीसँग आफूहरुको कार्यदिशामा समानता रहेको बताए । यस्तै, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित माओवादी धारका सबै घटकसँग पनि सहकार्य र एकताको नीतिमा आफूहरु रहेको बताए ।

‘एकीकृत समाजवादीसँग हाम्रो कार्यनीतिक रुपमा धेरै कुरा मिल्छ, ढिलोछिटो हामी एकै ठाउँमा हुने सम्भावना छ’, उनले भने, ‘युद्ध गर्ने होइन, शान्तिपूर्ण प्रतिस्पर्धाबाटै जान तयार भए वैद्यजी, विप्लवजीहरुसँग पनि एकता हुन्छ । हिजो सँगै लडेका र जनयुद्धको विरासत बोकेका सबै समूहसँग एकताका लागि हामी खुला छौं ।’

उनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परिपरि कम्युनिष्ट ध्रुवीकरणको प्रक्रिया अघि बढिसकेको दाबी गरे। पुनले आगामी ०८४ को स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा कसैसँग पनि तालमेल नहुने भन्दै अहिल्यैदेखि तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । काँगेस र एमालेप्रति जनताको मोह भंग भएको र विकल्पका रुपमा आफूहरुलाई छान्ने अवस्था बनेको दाबी उनको छ ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा कतिपय स्थानमा माओवादी उम्मेदवारले काँग्रेस–एमालेका साझा उम्मेदवारलाई हराएर जित निकालेबाट उक्त तथ्य पुष्टि हुने तर्क पुनले गरे । ‘०८४ मा स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा हामी एक्लै लड्ने छौं, यसमा कसैलाई पनि भ्रम नहोस् कि हामी अब एक्लै अगाडि बढेका छौं’, पुनले भने, ‘हामी एक्लै जनताको जनमत लिन सक्ने भएका छौं । करिबकरिब ०६४ को जस्तै उभार देखिन थालेको छ ।’

प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा भ्रष्टाचार नियन्त्रण, राज्य दोहन र बिचौलिया प्रवृत्तिविरुद्ध तथा सुशासनका पक्षमा कदम चालेका कारण जनतामा काँगेस र एमालेसँगको सहकार्यले पनि माओवादी बिग्रिएको रहेनछ भन्ने मनोविज्ञान विकास भएका दाबी पुनले गरे । ‘हामीले भ्रष्टाचार, अनियमितता, राज्य रोहन र बिचौलियामाथि प्रहार गरेर अघि बढ्ने बाटो लिएका छौं’, पुनले भने, ‘काँग्रेस र एमाले बिचौलियाको र स्वार्थ समूहको ‘इन्ट्रेस्ट’ मा चलेका कारण हाम्रो बाटो फरक भएको छ ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *