गोरखा, २५ असोज–आज (आइतबार) विहानै बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाका विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको छ।
बाढीले दुईवटा मोटरेबल र चारवटा झोलुङ्गे गरी ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्।
बाढीले आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगाएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
त्यसैगरी, धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिजसमेत बाढीले बगाएको छ। बाढीका कारण माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडोभर्याङ र जगत् जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुल पनि बगेका छन्।
पुलहरू बगाएपछि प्रभावित क्षेत्रका विभिन्न बस्तीबीचको आवतजावतमा समस्या भएको छ।
बाढीले चुमनुब्री गाउँपालिका–३ स्थित पैयुँ र बगरका करिब ३५ घरसमेत बगाएको छ। त्यस्तै, जगत्, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा पनि क्षति पुगेको छ।
बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ। सम्पर्कविहीन भएका व्यक्तिको अवस्था र प्रभावित क्षेत्रमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ।
