काठमाडौं, २५ असोज–प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ। बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ।

यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ।

जमरामा जौँबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताउनुभयो।

कुल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौँसितै रोप्ने गरेका छन्। जमरालाई आयुर्वेदिक औषधिमा समेत प्रयोग गरिन्छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *