पत्रकार राज अधिकारी

विराटनगर, १३ फागुन–शिशुसेवा समिति विराटनगरले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको विभिन्न पुरस्कार तथा सम्मानका लागि यस वर्ष सञ्चारकर्मी राजु अधिकारीसहित चार व्यक्तित्वहरुको छनोट गरेको छ ।

समितिले स्थापना गरी प्रदान गर्दै आएको शिशु सेवा पत्रकारिता पुरस्कारबाट उद्‌घोष दैनिक तथा सेतोपाटी अनलाइनमा कार्यरत सञ्चारकर्मी राजु अधिकारीलाई समर्पण गर्ने निर्णय गरेको हो ।

यसैगरी राष्ट्रिय आदर्श आमा पुरस्कार झापा मेचीनगर निवासी राष्ट्रिय महिला क्रिकेट खेलाडी रुविना क्षेत्रीकी माता मुना बस्नेत बेल्वासेलाई दिने निर्णय गरेको छ ।।

संस्थापक सभापति शान्ता पोखरेलको नाममा स्थापित शान्ता राष्ट्रिय बाल उत्कृष्ट पुरस्कारबाट विराटनगर निवासी नृत्यकलामा उत्कृष्ट १३ वर्षीया बालिका श्रीदुला खनाल, तीर्थप्रसाद–रानू स्मृति संगीत पुरस्कार झापा वितामोड निवासी विभिन्न विधाका गीत गाउन सफल र सक्षम भएर पनि ओझेलमा परेकी मुना सोरेनलाई प्रदान गरिने भएको छ ।

शिशुसेवा पत्रकारिता पुरस्कार, शान्ता राष्ट्रिय बाल उत्कृष्ट पुरस्कार तीर्थप्रसाद–रानू स्मृति संगीत पुरस्कारको राशि जनही ११ हजार १११ र आदर्श आमा पुरस्कारका राशि १५ हजार ५०१ नगद छ । सबै पुरस्कार संस्थाको वार्षिकोत्सवको अवसरमा फागुन २४ गते प्रदान गरिने शिशु सेवा समितिका सहसचिव धर्मराज भट्टराईले बताए ।

सोही दिन शिशुसेवा समितिकी पूर्व सभापति निर्मला अर्जेलले आफ्ना पति शैलेश अर्जेलको स्मृतिमा स्थापित शैलेश अर्जेल स्मृति छात्रावृत्ति १५ हजार नगदसहित लक्ष्मीनारायण मन्दिर विराटनगर–४ का छात्रहरुलाई प्रदान गरिने छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *