बुटवल, १३ फागुन–पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समूहबीच भएको झडपपछिको घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ।

पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ की एक युवती हराएपछि सोमबार रातीदेखि दुई समूहबीच विवाद उत्पन्न भएको थियो।

सोही विवाद बढ्दै गएपछि मंगलबार बिहान दुई समूहबीच झडप भएको थियो। सो क्रममा युवतीका आफन्तले पाल्हीनन्दन वडा नम्बर ३ बेलासपुरका ३५ वर्षीय विजय धोवीलाई गाडीले ठक्कर दिएका थिए।

वडा नम्बर ३ का वडा अध्यक्ष गोधनप्रसाद हरिजनका अनुसार युवतीतर्फको समूहले चलाएको गाडीले धोवीलाई ठक्कर दिएको थियो। गाडीले ठक्कर दिएका विजय धोवीको मृत्यु भएको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले जानकारी दिए।

दुई समूहले एकअर्कालाई आरोप लगाएपछि झडप भएको प्रहरीले जनाएको छ। सोमबार भएको झडपपछि मंगलबार बिहान विवाद समाधानका लागि छलफल गर्न खोज्दा फेरी झडप भएको वडाअध्यक्ष हरिजनले बताए।

‘मंगलबार बिहान युवतीतर्फको समूहले धोवीमाथि पिकअप गाडी चढाएका थिए। गाडी चढाएर घाइते भएका युवकलाई प्रशासनले घटनास्थलबाट उपचारका लागि भनेर लगेको थियो। अहिले मृत्यु भएको खबर आएको छ,’ उनले भने।

प्रहरीका अनुसार स्थानीय १६ वर्षीया किशोरी पुसको अन्तिमतिर हराइरहेको भन्दै निवदेन परेको छ। उनीसँगै सोही गाउँका एक युवक पनि परिवारको सम्पर्कमा छैनन्।

प्रहरीले मंगलबार बिहान झडप नियन्त्रणका लागि ५ राउन्ड अश्रुग्यास र ३ राउन्ड हवाइ फायर गरेको थियो। सो क्रममा स्थानीय र प्रहरी गरी २१ जना घाइते भएका थिए।

आक्रोशित समूहले प्रहरीको गाडीमा समेत आगजनी गरेको थियो। प्रहरीले उक्त कार्यमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *