काठमाडौं, १७ फागुन–अमेरिकाको असफल भ्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बेलायतको लन्डन पुगेका छन् । केहीबेर अघि लन्डन पुगेका जेलेन्स्कीले केहि घण्टापछि बेलायती प्रधानमन्त्री केइर स्टारमरसँग भेटवार्ता गर्ने बिबिसीले उल्लेख गरेको छ ।
त्यस्तै जेलेन्स्कीले लन्डनमा आइतबार युरोपेली नेताहरुको समिटमा भाग लिने बताइएको छ । युक्रेन युद्धको विषयमा छलफल गर्न बेलायती प्रधानमन्त्री स्टारमरले युरेपेली नेताहरुको समिट गर्न लागेका हुन् ।
ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तनावपूर्ण घटनाक्रमपछि जेलेन्स्की अमेरिकासँग कुनै सम्झौता नगरी बेलायत पुगेका छन् ।
उनले सामाजिक सञ्जालमा केहीबेर अघि पनि युक्रेनलाई सहयोग गरेकोमा अमेरिकालाई धन्यवाद दिंदै युक्रेन अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको तर सुरक्षा ग्यारेन्टी हुनुपर्ने दोहोर्याएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टी बिनाको युद्धविराम युक्रेनका लागि खतरनाक हुने पनि बताएका छन् ।

