राजकुमार ओझा (बायाँ) र अजम्बर राई (दायाँ)

विराटनगर, १९ फागुन–प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूले प्यानल बनाएर चुनाव नलड्न दिएको निर्देशन अवज्ञा गर्दै मोरङमा दुइटा प्यानलले उम्मेदवारी दर्ता गराएका छन्।

ओलीले उपाध्यक्ष रामबहादुर थापा बादलमार्फत् चुनावी प्रतिस्पर्धा नगर्न, प्यानल बनाएर प्रतिस्पर्धा नगर्न सन्देश पठाएका थिए।

ओलीको निर्देशन उनकै समूहका नेताहरूले नै अवज्ञा गरेका छन्। सहमति गर्ने भन्दै आएको संस्थापन समूहले प्यानलसहितको उम्मेदवारी दर्ता गराएको छ। अर्को समूहले पनि त्यसै गरेको छ।

विराटनगरमा जारी एमाले मोरङको १० औं अधिवेशनमा राजकुमार ओझा र अजम्बर राईको नेतृत्वमा दुइटा प्यानलले उम्मेदवारी दर्ता गराइरहेका छन्। पदाधिकारी र सदस्यमा प्यानलसहितको उम्मेदवारी दर्ता हुने क्रम जारी छ।

अध्यक्षका दुई उम्मेदवारमध्ये प्रदेश पूर्वसांसद ओझाले संस्थापन पक्षको प्रतिनिधित्व गर्छन्। उनलाई कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने बहुसंख्यक स्थायी कमिटी सदस्यको साथ छ।

अध्यक्षमै उम्मेदवार बनेका जिसस मोरङका प्रमुख अजम्बर राईलाई नेता विनोद ढकालको समर्थन छ।

ओझाको टिमबाट उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा इर्जालाल राजवंशी र शिल्पा निराला कार्कीले उम्मेदवारी दिएका छन्।

उपसचिवमा संस्थापन पक्षबाट उम्मेदवारी दिएकी शिल्पा निराला कार्की विराटनगर महानगरकी उपमेयर हुन्। उनी अन्तिम समयमा विनोद ढकाल समूह छाडेर संस्थापन समूहबाट उम्मेदवार बनेकी हुन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *