विराटनगर, १९ फागुन–नेकपा (एमाले) मोरङको जिल्ला नेतृत्व हत्याउन दुई प्यानल मैदानमा उत्रिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर प्यानल बनाएरै मैदानमा उत्रिएका हुन् ।
पूर्वराष्ट्रपति भण्डारी पक्ष प्यानलको नेतृत्व विनोद ढकालले गरिरहेका छन् । ढकाल लामोसमय अध्यक्ष ओली निकट भएर चिनिएका थिए । तर गत वर्ष प्रदेश अध्यक्ष पदमा पराजित भएपछि उनी खुलेर फरक गुटको नेतृत्व गरिरहेका छन् । गत माघ १४ गतेदेखि सात दिनसम्म चलेको पूर्वराष्ट्रपति भण्डारीको विराटनगर यात्राका क्रममा भेटघाटको व्यवस्थापन ढकालले नै मिलाएका थिए ।
जिल्लामा आफूलाई संस्थापन बताउने समूहको नेतृत्व एमाले उपाध्यक्ष गुरु बरालले गरिरहेका छन् । यो समूहमा प्रदेश इञ्चार्ज शेरधन राई, कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, मोरङ इञ्चार्ज जीवन घिमिरे लगायत छन् ।
जिल्ला अधिवेशनले १६५ सदस्यीय कमिटी चयन गर्नेछ । जिल्ला अधिवेशनका लागि ९११ जना प्रतिनिधि छन् । संस्थापन पक्षले आफ्नो समूहसँग ६० प्रतिशत प्रतिनिधि रहेको दावी गर्छ । इतर पक्षले पनि आफूसँग ६० प्रतिशत नै रहेको दाबी गर्छ ।
संस्थापन पक्षको तुलनामा इतर पक्षका नेता ढकाल मोरङमा प्रभाव जमाएका नेता हुन् । भूगोल र जनवर्गीय संगठनबाट आउने पदाधिकारीमा ढकाल पक्षको वर्चश्व देखिएपछि संस्थापन पक्षले ४६ जना आफू निकटलाई अधिवेशन प्रतिनिधि मनोनित गरेको थियो ।
जिल्ला नेतृत्वका लागि ओली र भण्डारी निकटको प्यानल बनेपनि प्रदेश अध्यक्ष घनश्याम खतिवडा मान्न तयार छैनन । उनी पूर्वराष्ट्रपति भण्डारीलाई अनावश्यक रुपमा विवादमा ल्याउन खोजिएको बताउँछन् ।
मनोनित प्रतिनिधिको विषयमा आइतबार बन्दसत्रमा नाराबाजी भएको थियो । इतर पक्षको नाराबाजीका कारण निर्वाचन कार्यक्रम नै प्रभावित भएको थियो । आइतबारबाट सुरु गर्ने भनिएको निर्वाचन प्रक्रिया आज दिउँसोबाट मात्रै सुरु भएको छ ।
दुवै पक्षको मनोनयन दर्ता
एमाले मोरङको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता भइरहेको छ । मतदान भने भोलि बिहान ९ बजेबाट सुरु हुनेछ ।
१६५ सदस्यीय कमिटी निर्वाचित हुनेछ । सदस्यका लागि पनि मनोनयन जारी छ । कार्यसमितिमा सदस्यीको मनोनयन जारी छ । दुवै पक्षले पदाधिकारीदेखि सदस्यसम्म प्यानल बनाउने तयारी गरेका छन् ।
निर्वाचनका लागि ९११ जना मतदाता छन् ।
