दमक, २० फागुन–प्रकृतिपुजक माझी जातिहरुले आज लदी पुजा मनाएका छन् । जातिय भेषभूषामा सजिएका माझीहरुले परमपरागत माछा मार्ने जाल र ढुंङ्गासहित कुल देउतालाई फलफूल र बलि चढाएर लदी पुजा मनाउने गर्दै आएका छन् ।
यसैबीच, झापाका माझी समुदायले प्रसिद्ध धार्मीकस्थल कनकाई नदिमा लदी पूजा मनाएका छन् । लदी पुजालाई कोशी पुजासमेत भन्ने गरिएको छ ।
माझी उत्थान संघ जिल्ला कार्यसमितिको आयोजनामा शिवसताक्षी–१० दोमुखास्थित कनकाई नदीमा झापाका विभिन्न पालिकाहरुका माझीहरुले लदी पूजा मनाएका हुन् ।
लदी पुजाको अवसरमा दोमुखामा वृहत साँस्कृतिक कार्यक्रमसहित शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रमको उद्घाटन शिवसताक्षी नगरपालीका नगर प्रमुख मेगाहाङ्ग थोप्रा (रोशन) ले गर्नु भयो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी थोप्राले माझी समुदायको उत्थानको लागि नगरले आवस्यक सहयोग गर्दै आएको र आज नगरले स्थानीय बिदासमेत दिएको बताउनुभयो । उहाले माझी समुदायको पहिचानसँग जोडिएको हुनाले यस पर्वको संरक्षण र प्रबर्द्धनमा जुट्नुपर्ने बताउनुभयो ।
माझी समुदायको पहिचानसंग जोडिएको महान् पर्वका रुपमा लिइने लदी पूजा हरेक वर्ष नदी किनारहरुमा गर्ने गरिन्छ । नदी आफूहरुको जीवन पद्धतिसँग जोडिएकाले परापूर्वकालदेखि पूजा गरिँदै आएको शिवसताक्षी नगरपालिका कृष्ण माझीले बताए ।
सुरुसुरुमा कोशी तथा ठूला नदीहरुहरुमा डुङ्गामा जङ्घार तार्ने र माछा मार्ने पेसा भएकाले पनि माझी समुदायको लदी पूजासँग विशेष सम्बन्ध छ।
परापुर्वकालमा माझीले राजालाई डुङ्गा तार्ने क्रममा कोशीकोबीचमा डुङ्गा अड्किएपछि राजा डुब्ने डरले आत्तिँदै बल पुकारा माग्दा लदी पूजा गर्नु र त्यसको प्रसाद कसैलाई नदिई आफैँले मात्र खानु भनी माझीलाई भनेपछि माझीले सो अनुसार गरी डुङ्गा पार लगाएको किम्बदन्ती छ’, स्थानीय डम्बर माझीले भने, ‘त्यही भएर यो पूजामा नदीमा डुङ्गा, त्यसको बहना, माछा मार्ने जाल, घोल्याङ, माछा हाल्ने पेरुङ्गो, एकै ठाउँमा राखेर देवता स्थापना गरी कोशी किनारमा परेवा, हाँस, कुखुरा र पाठीको बलि दिई पूजाआजा गर्ने चलन छ।’
