धरान, २२ फागुन–सुनसरीको इटहरीमा अन्तरराष्ट्रिय नाट्य महोत्सव हुने भएको छ। आज इटहरी–४ स्थित मेट्रिक्समा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइयो।
एशियन पिपुल्स थिएटर फेष्टिभल सोसाइटीद्वारा सर्वनाम थिएटरको सहकार्यमा कोशी प्रदेशको पर्यटन वर्ष–२०८१ को अवसरमा अन्तरराष्ट्रिय नाट्य महोत्सव–२०२५ को आयोजना गरिएको मूल संयोजक म्याट्रिक्स इटहरीका अध्यक्ष विक्रम श्रीले बताए।
यही फागुन २५ गतेसम्म आयोजना हुने महोत्सव इटहरी म्याट्रिक्स परिसरभित्र सांस्कृतिक भवन थिएटर हल सञ्चालन हुनेछ।
महोत्सवमा १३ मुलुकका २० वटा नाट्य संस्थाका ४४ जना विदेशी रङ्गकर्मी र संस्कृतिकर्मी कलाकारको सहभागिता रहनेछ।
महोत्सव एशियन पिपुल्स थिएटर फेस्टिभल सोसाइटी, हङकङ र सर्वनाम थिएटर, काठमाडौँको सहकार्यमा स्थानीय मूल संयोजन इटहरी म्याट्रिक्स र आरम्भ नाट्य डबलीको रहेको अध्यक्ष विक्रम श्रीले बताए।
महोत्सवमा विविध नाटक प्रदर्शन, कार्यशालाहरुका साथै सांस्कृतिक आदानप्रदान गरिनेछ। जसले नेपाल र कोशी प्रदेशको पर्यटन प्रवर्द्धन, अन्तरराष्ट्रिय सम्बन्ध विस्तार तथा कला, संस्कृति र सभ्यताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको आयोजकको भनाइ छ।
