कमल, २ चैत–कमल गाउँपालिका वडा १ मा सञ्चालित विद्यालय स्वास्थ्य परीक्षण कार्यक्रमबाट गएको महिना २२५ जना विद्यार्थीहरु लाभान्वित भएका छन् ।
हरेक महिना सामुदायिक विद्यालयमा सञ्चालन गरिदैं आएको विद्यालय स्वास्थ्य कार्यक्रमबाट गएको फागुनमा २२५ जना विद्या र्थीहरुले स्वास्थ्य परीक्षण,औषधी वितरण तथा आवश्यक परामर्श पाएको आधारभूत स्वास्थ्य सेवा केन्द्रले जनाएको छ ।
विद्यालय स्वास्थ्य परीक्षण कार्यक्रममा कमल (१ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रका जनस्वास्थ्य निरीक्षक देवराज पराजुली र अनमी विन्द्रा राईले स्वास्थ्य जाँच सहित स्वास्थ्य परामर्श प्रदान गरेका थिए भने कमल –१ का वडा सदस्य बालकला प्रसाईले सहजीकरण गरेर सहयोग पुरयाँएकी थिईन् ।
जनस्वास्थ्य निरीक्षक पराजुलीका अनुसार गत फागुन २३ गते कालिका आधारभूत, २५ गते बाँसबारी मावि ,नवदुर्गा आधारभूत विद्यालय र २८ गते नरेन्द्र जनता माविमा स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परीक्षण सम्पन्न गरेको थियो ।
वडा कार्यालयले आफनो बार्षिक कार्यक्रम अन्तर्गत आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्राविधिक सहयोगमा यस किसिमको स्वास्थ्य परीक्षण कार्यक्रम नियमित रुपमा सञ्चालन गरिआएको यसलाई निरन्तरता दिदै लैजाने वडाध्यक्ष केदार कटुवालले बताए ।
नियमित खोपमा २६ जनाल सेवा पाए
वडामा रहेको स्वास्थ्य सेवा केन्द्रले हरेक महिनाको १३ गते सञ्चालन गरिआएको नियमित राष्ट्रिय खोप कार्यक्रमबाट गएको फागुन महिना २६ जना बालबालिकाले सेवा पाएका छन् । १३ गते सराङपाडा खोप केन्द्रमा १० जना र १४ गते बाँसबारी खोप केन्द्रमा सञ्चालित खोप कार्यक्रमबाट १६ जना बालबालिकाले विसीजी लगायतका नियमित खोप पाएका हुन् ।
त्यस्तै, खोप केन्द्रमा गर्भवती महिलाहरुका लागि टिडी खोप समेत सञ्चालन गरिएको जनस्वास्थ्य निरीक्षक देवराज पराजुलीले बताए ।
