काठमाडौँ, ९ चैत–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालमा कम्युनिष्ट पार्टीको नाम राखे पनि तिनीहरू पुँजीपति वर्गको दलाल भएको स्पष्ट पारेका छन्।
आज (शनिवार) काठमाडौँमा आयोजित एक कार्यक्रममा नेता खनालले यस्तो बताएका हुन्।
उनले आम सर्वसाधारणको जीवनयापन उकास्न तथा देशमै उद्योगधन्दा स्थापना गरी रोजगारीको व्यवस्था गर्न २०६२।०६३ को क्रान्ति भएको बताए। उनले क्रान्तिमार्फत जनताले गरेको आशा र भरोसामाथि सत्तामा पुग्नेहरूले वास्ता नगरेको आरोप लगाए।
नेताहरू दलाल पुँजीपतिहरूको दलाली गर्ने र कमिशनतन्त्रमा रमाउन थालेकाले लोकतन्त्रमाथि अनेक किसिमको प्रहार हुन थालेको उनको भनाइ छ।
खनालले भने, ‘हाम्रो देशमा कम्युनिष्ट पार्टीको नाम राखे पनि तिनीहरू वास्तवमा दलाल पुँजीपति वर्गको दलाली गर्ने बाहेक अरू कोही पनि छैनन्। २०६२।०६३ को क्रान्तिमार्फत जनताले देखेको सपना संविधान निर्माणपछि सत्तामा पुगेका सत्ताधारीहरूले कहिल्यै पनि वास्ता गरेनन्।’
नेता खनालले राज्यसत्तामा हुनेहरूको नीतिहीनता र अकर्मण्यका कारण देशमा प्रतिगमनकारी शक्ति सल्बलाउने मौका पाएको बताए। उनले सबै किसिमका प्रतिगमनकारीलाई परास्त गरी देशलाई आमूल परिवर्तनको दिशामा लैजान तत्काल पहलकदमी थाल्नुपर्नेमा जोड दिए।

