काठमाडौँ, १० चैत–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिराहाको औरही गाउँपालिका(५ मा महायज्ञ लगाउने नाममा दीपक मलिक (डोम) को घरवार भत्काइएको भन्दै भत्र्सना गर्नुभएको छ।
आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री खनालले सो घटनामा संलग्न सबैलाई कडाभन्दा कडा कारबाहीको माग गर्नुभएको हो। मलिकको परिवार त्यो ठाउँमा विगत ३० वर्षदेखि बस्दै आएको र ५ वर्षअघि मात्र ‘जनता आवास कार्यक्रम’अन्तर्गत उक्त घर बनाएर बसोबास गर्दै आएको थियो।
हिन्दूवादी बजरङ्गी बाबाको निर्देशनमा मलिकको घरलाई डोजर लगाएर ध्वस्त पारिएको र घर भएको स्थानबाट अपबित्र भएको भन्दै २ फिट माटोसमेत खनेर फ्याँकिएको पूर्वप्रधानमन्त्री खनालले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। नेपाल एक बहुधार्मिक मुलुक रहेको र यहाँ सबै धार्मिक र सामाजिक समूहबीच समानता, सबैको उत्तिकै सम्मान, मर्यादा र प्रतिष्ठा हुनुपर्ने खनालको भनाइ छ।
नेपालमा दलितहरूको संख्या ३० लाखभन्दा बढी रहेको रहेको तर्फ पनि ध्यान पुर्याउन उहाँले आग्रह गर्नुभएको छ। ‘म सिराहा जिल्लाको औरहीमा भएको दलित परिवार विरुद्धको यस अमानवीय घटनाको कडा शब्दमा विरोध र भत्सना गर्दछु,’ नेता खनालले भन्नुभएको छ।

