काठमाडौँ, १८ चैत–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन आगामी वैशाखमा हुने बताएका छन्।

सभापति रवि लामिछानेको अध्यक्षतामा आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको राष्ट्रिय भेलाबाट घोषणा गरेकै समय अर्थात वैशाखमा पहिलो महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।

महाधिवेशन आयोजना गर्ने सन्दर्भमा केन्द्रीय समितिका सदस्य र प्रदेश समितिबाट आगामी ३ दिनभित्र लिखित राय र कार्यविवरण पार्टीमा पेश गर्न उनले निर्देशन दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

त्यसैगरी बैठकले ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ यही चैत २३ गते चितवनबाट शुरु गर्ने निर्णय गरेको छ। पार्टीका तर्फबाट राष्ट्र निर्माणसम्बन्धी खाका तयार गर्न उपसभापति डोलप्रसाद अर्याल र डा स्वर्णिम वाग्लेको संयोजकत्वमा पूर्वमन्त्री सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा तोसिमा कार्कीसहितको ‘मिसन ब्लुप्रिन्ट’ कार्यदल गठन गरिएको छ।

लिडरशिप एकेडेमी र उम्मेदवार क्लबको कार्यान्वयनका लागि सहमहामन्त्री सुमना श्रेष्ठ र विपिनकुमार आचार्यलाई जिम्मेवारी तोकिएको छ।

पार्टीको जनयात्रा कार्यक्रमको कार्यविधिलगायतको संयोजन जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई तोकिएको छ।

आजको बैठकले गण्डकी प्रदेश समितिको सिफारिसमा गण्डकी प्रदेश सहमहामन्त्रीमा कृष्णप्रसाद लम्साल र कृष्णकुमारी अधिकारीलाई मनोनयनसमेत गरेको छ।

करिब साढे ५ महिनापछि सभापतिको जिम्मेवारीमा फर्किएका लामिछानेले वर्तमान राजनीतिक परिस्थितिमा अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक रहेको बताए।

सङ्गठनमा फेरबदल र पुनःसंरचनाका लागि तयार रहन सभापति लामिछानेले पार्टी सदस्यलाई आह्वान गरे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *