पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द

काठमाडौं, १९ चैत–पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राजसंस्था, राजनीतिक दलहरु र जनता अटाउने मिलन बिन्दु पहिल्याउन आग्रह गरेका छन् । एक प्रेस वक्तव्य जारी गर्दै उनले राज्यका संरचनाप्रति आम जनतामा घोर निराशा तथा आक्रोश पैदा भएको दाबी गरेका छन् ।

‘सरकार, संसद, न्यायपालिका र राज्यका अन्य अंगहरुमाथि जनविश्वास गुम्न गई आम जनतामा घोर निराशा तथा आक्रोश पैदा भएको छ ।’ उनले भने, ‘यसैले अबको निकास भनेको बिना कुनै बिलम्ब नगरी सबैले आ–आफ्ना आग्रह–पुर्वाग्रह र अहम त्यागी राजसंस्था, राजनीतिक दलहरु र सम्पूर्ण जनता एकै ठाउँमा अटाउने मिलन बिन्दु पहिल्याउनु नै हो ।’

मुलुक अब निषेधको राजनीतिबाट अगाडि बढ्न नसक्ने बताएका छन् । ‘मुलुक अब निषेधको राजनीतिबाट अगाडि बढ्न सक्दैन । राष्ट्रिय सहमति, सहकार्य र सबै पक्षबीच राष्ट्रिय एकता नै अबको निकासको अपरिहार्य मार्ग हो ।’

पूर्वप्रधानमन्त्री चन्दले भने, ‘१० वर्षको माओवादी द्वन्द र ०६२/०६३ को आन्दोलनपछि मुलुक राजनीतिक अस्थिरता, भ्रष्टाचार, कानूनविहिन र उत्तरदायित्व विहिनताको भूमरीमा फसेको छ ।’

राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समन्वय समितिको आह्वानमा चैत १५ मा काठमाडौंमा भएको शान्तिपूर्ण विरोधसभाको क्रममा भएको दुःखद घटनाबाट आफू मर्माहत भएको उनले उल्लेख गरेका छन् । उनले घटनाको निष्पक्ष छानविन गर्न उच्च स्तरीय न्यायिक आयोग गठनको माग गरेका छन् ।

‘शान्तिपूर्ण विरोधसभाका क्रममा नियोजित रुपमा हत्या, हिंसा र आगजनी तथा लुटपाटका घटनाहरु घटाइएको सुन्नमा आएको छ, यदि त्यो सत्य हो भने त्यो दुर्भाग्यपूर्ण र निन्दनीय छ । आन्दोलनको क्रममा सहादतप्राप्त गर्नुहुनेहरुप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’

घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उचित क्षतिपूर्ति सहित उपचारको व्यवस्था गर्न तथा उक्त घटनाको निष्पक्ष छानविन गर्न उच्च स्तरीय न्यायिक आयोग गठनको माग गर्दछु ।’

पूर्वप्रधानमन्त्री चन्दको विज्ञप्तिमा भनिएको छ,‘ यसका साथै नजरबन्दमा राखिनुभएका राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन समन्वय समितिका संयोजक तथा वरिष्ठ नेता श्री नवराज सुवेदी तथा हिरासतमा राखिनुभएका राप्रपाका वरिष्ठ उपाध्यक्ष श्री रविन्द्र मिश्र, राप्रपाका महामन्त्री माननीय श्री धवलशमशेर राणा लगायत पक्राउ परेका सम्पूर्ण बन्दीहरुको यथाशीघ्र विना शर्त रिहाइको माग गर्दछु ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *