क्याम्पा (कमल), ३१ चैत–कमल गाउँपालिका वडाँ नम्बर २ क्याम्पास्थित कमल नगर अस्पतालमा सेवा लिन आउनेको संख्यामा उल्लेखनिय बृद्धि भएको छ ।
गाउँपालिकाको प्रत्यक्ष रेखदेख, निगरानी, अनुगमन, भौतिक संरचना निर्माण, दक्ष कर्मचारी र उपकरणहरुको आपुर्तिभएपछि कमल नगर अस्पतालमा सेवा लिन आउनको संख्यामा उल्लेखनिय बृद्धि भएको हो ।
लामो समयसम्म सामान्य उपचारकालागि पनि दमक, बिर्तामोड वा विराटनगर जानुपर्ने बाध्यता अन्त्य गर्दै, क्याम्पा बजारमा अवस्थित नगर अस्पतालले सहज, सुलभ र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्न थालिएको छ।
गाउँपालिका अध्यक्ष हुकुमसिंह राईका अनुसार, “अब कमलवासीले आफ्नै गाउँमा सुलभ सेवा पाउन थालेका छन्, जसले गर्दा बिमा सेवा लिन अन्य अस्पतालमा ३ दिन लाइन बस्नुपर्ने दिनको अन्त्य भएको छ।”
साबिक तोपगाछी स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी हाल ५ शैयाको बेडसहितको कमल नगर अस्पताल नवनिर्वाचित जनप्रतिनिधि द्वारा संचालन मा ल्याइएको छ, जहाँ स्वास्थ्य बिमा सेवासमेत उपलब्ध छ।
वडास्तरीय सेवा सुदृढीकरण
गाउँपालिकाका विभिन्न वडामा रहेका स्वास्थ्य संस्थाहरूबाट पनि नियमितरूपमा सेवा दिइँदै आएको छ। वडा नं ६ स्थित लखनपुर स्वास्थ्य चौकी, वडा नं ५ (सिम्ले) को सामुदायिक स्वास्थ्य इकाइ, साथै वडाहरू १, ३, ४, ५ र ७ मा रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूबाट नियमित सेवा उपलब्ध छन्।
कमल नगर अस्पतालबाट खोप कार्यक्रम, गर्भवतीको नियमित जाँच, टिभी, लेप्रोसी जाँच परामर्श तथा औषधी वितरण, हप्तामा दुई दिन दन्त उपचार सेवा, महिनामा एक पटक मानसिक तथा नसासम्बन्धी परीक्षण विशेषज्ञ सेवा, साथै विषेशज्ञ सेवाहरू प्रदान भइरहेका छन्। चोटपटक लाग्दा निःशुल्क टिटानस खोपसमेत उपलब्ध छ।
अस्पतालमा दैनिक एम बि बि एस डाक्टरबाट सेवा
कमल नगर अस्पतालमा हाल मेडिकल अधिकृत डा। फुलचन्द्र लावती र आम्दा अस्पताल दमकको समन्वयमा डा। अजित साहले नियमित सेवा दिइरहेका छन्। अस्पताल प्रमुख दिपक दाहालका अनुसार, “अस्पतालमा अहिले नियमित इमरजेन्सी सेवा, प्रसुति सेवा, एक्स–रे, ल्याब परीक्षण लगायत सेवाहरू विस्तार गरिएको छ, तर आवश्यक जनशक्तिको अभावमा केही सेवा पूर्णरूपमा दिन समस्या भएको छ।”
वडा नं १ की सरस्वती बजगाईं भन्छिन्, “हिजो सामान्य जाँच गर्न पनि दमक जानुपर्थ्यो, आज गाउँमै उपचार पाउँदा अत्यन्त सहज भएको छ।”
वडा नं २ का सुदीप पोखरेल थप्छन्, “गाउँमै अस्पताल खुलेपछि हामी खुसी छौं, अब सेवा २४ घण्टा सञ्चालन भए अझ राम्रो हुनेथियो।”
मातृस्वास्थ्यमा उल्लेखनीय सुधार
ग्रामिण क्षेत्रमा मातृ मृत्युदर घटाउने उद्देश्यले सुरु गरिएको ग्रामिण अल्ट्रासाउन्ड भिडियो एक्स–रे सेवा प्रभावकारी बन्दै गएको छ। यस प्रविधिबाट अहिले गर्भवती महिलाहरूले निःशुल्क भिडियो एक्स–रे सेवा पाउँदै आएका छन्।
कमल २ का वडा अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका सदस्य अशोक सुब्बाका अनुसार, “पहिले वर्षमा प्रसुति संख्या शून्य जस्तै हुन्थ्यो, अहिले ग्रामिण भिडियो एक्स–रे सेवापछि प्रसुति सेवा लिने महिलाहरूको संख्या उल्लेखनीय रुपमा बढेको छ।”
कमल गाउँपालिकाको नीति कार्यक्रम २०८१र८२ अनुसार, कमल नगर अस्पतालमा प्रसुति गराउने महिलालाई ५,००० रुपैयाँको सुत्केरी उत्प्रेरणा भत्ता उपलब्ध गराइन्छ। चालु आर्थिक वर्षमा हालसम्म १७ जना महिलाले उक्त सेवा लिइसकेका छन्।
घरदैलोमै विशेषज्ञ सेवा
कमल नगर अस्पतालले बिपन्न तथा ग्रामिण भेगका नागरिकलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको छ। २०८१ फाल्गुन १ गतेको वार्षिकोत्सवका अवसरमा आयोजित शिविरमा १,०३४ जनाले विशेषज्ञ सेवा लिए भने, चैत २८ गते कमल–७ स्थित श्री सिंहदेवी आधारभूत विद्यालयमा सम्पन्न शिविरमा ४१२ जना सेवाग्राही लाभान्वित भए।
गाउँपालिका अध्यक्ष हुकुम सिंह राईका अनुसार, “नेपाल रेडक्रस कमल उपशाखाको समन्वयमा यस्ता शिविरहरू निरन्तर भइरहने छन्, जसले नागरिकलाई घरदैलोमै विशेषज्ञ सेवा दिन सहयोग पुर्याउँछ।”
एआरभी खोपको पहुँच
अस्पतालले हाल रेबिज विरुद्धको एआरभी ९ब्लतष् च्बदष्भक ख्बअअष्लभ० खोप समेत आवश्यक बिरामीलाई निःशुल्क वितरण गर्दै आएको छ, जसले कुकुरले टोक्दा तत्काल उपचार सम्भव बनाएको छ।
चुनौतीहरू पनि छन्
यद्यपि सेवा विस्तारसँगै नागरिकको अपेक्षा पनि बढिरहेको छ। अस्पताल भवनको अपुग, उपकरणको न्यूनता तथा दैनिक विशेषज्ञ डाक्टर को सेवा अभाव अझै केही चुनौतीका रूपमा छन्।
स्थानिय रूपक खड्काका अनुसार, “अहिलेको सेवा निकै राम्रो छ, तर अस्पतालमा आवश्यक उपकरण नभएका कारण कहिलेकाहीं समस्या हुने गरेको छ।”
निष्कर्ष
कमल गाउँपालिकामा पछिल्लो केही वर्षयता भएको स्वास्थ्य सेवा विस्तार ‘गाउँमै उपचार, गाउँमै समाधान’ भन्ने नारालाई मूर्तरूप दिने प्रयास हो। अब बाँकी रहेका पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्था गर्न सकेमा कमल नगर अस्पताल एक आदर्श ग्रामीण अस्पतालको नमूना बन्नेछ भन्नेमा कुनै शंका छैन।
