शेखर कोइराला

काठमाडौं, १ वैशाख–नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कुनै कारण देखाएर पार्टीको महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुने बताएका छन् । नयाँ वर्ष २०८२ शुभकामना दिँदै उनले कांग्रेस पार्टी ‘सुकिला मुकिला र पैसावालाको कब्जामा’ जाने खतरा देखेको दाबी गरेका छन् ।

‘यो वर्ष विधानतः कांग्रेस महाधिवेशनको वर्ष हो । कुनै कारण देखाएर कांग्रेस महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुनेछ । यसतर्फ कांग्रेसका साथीहरुलाई चनाखो र सतर्क रहन पनि म अपिल गर्दछु ।’ उनले भने, ‘एक पटक आफू र आफ्नो दलभन्दा देश र जनतामाथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउनेछ ।’

वर्तमान समसामयिक राष्ट्रिय राजनीति, अन्तराष्ट्रिय राजनीति र राष्ट्रिय मुद्दाहरूमा कांग्रेसले आफ्नो गौरवशाली इतिहासलाई सम्झेर विवेकपूर्ण निर्णय लिएर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाई छ । ‘नेपाली राष्ट्रियता, धर्म–संस्कृति र समृद्धिको लागि एक पटक फेरि नेपाली कांग्रेसमा पुनर्जागरणकाल जगाउनु पर्नेछ । यो तब मात्र सम्भव छ, जब कांग्रेसका साथीहरु जाग्ने छन् । कांग्रेसका इमान्दार, निस्वार्थी र स्वाभिमानी साथीहरूको सक्रियता बिना पार्टीमा इमान र नैतिकताको राजनीतिक भावधारा बगाउन सम्भव छैन। ’

कोइरालाले शुभकामना सन्देशमार्फत भनेका छन्, ‘हामी सबै राजनीतिमा देखिएको विकृति विसंगतिको चर्चा गर्छौं, यसको उपचारको खोजी पार्टी भित्रबाट गर्नुपर्छ भन्ने मेरो मान्यता हो । पार्टीको अगुवाईमा ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’ को अभियान नचलाई बस्ने हो भने विपी कोइरालाले भन्नु भएझै कांग्रेस पार्टी ‘सुकिला मुकिला र पैसावालाको कब्जामा’ जाने खतरा छ । र म त्यो देख्दैछु ।’

नयाँ वर्ष २०८२ को नारा पार्टीमा क्लिन पोलिटिक्स भनी अगाडि नसार्दा नागरिकको विश्वास र भरोसा जित्न गाह्रो हुने उनको तर्क छ । कोइरालाले भने, ‘कुशासन, भ्रष्टाचार, दण्डहिनता र अनियमितता संस्थागत भएर चुँडिदै गएको नागरिक र पार्टीको सम्बन्धलाई जोडन पार्टीभित्र शुद्धीकरण अभियान चलाउनुको विकल्प छैन ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *