काठमाडौं, २२ असोज–नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारी तीव्र पारिएको छ। तयारी स्वरूप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम तीव्र पारिएको छ।
आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म आयोजना हुने एनपीएलका लागि मैदानको भौतिक संरचना सुधारसँगै प्रवेशद्वार, दर्शक व्यवस्थापन तथा अन्य आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ।
एनपीएल सुरु हुनुअघि आवश्यक तयारी पूरा गर्ने लक्ष्यसहित मैदानको स्तरोन्नति र व्यवस्थापनलाई तीव्रता दिइएको हो। अहिले अधिकांश पूर्वाधार निर्माण तथा सुधारका काम अन्तिम चरणमा पुगेका छन्।
प्रतियोगिताका क्रममा खेलाडी तथा दर्शकलाई सहज हुने गरी मैदानको व्यवस्थापन र प्रवेश प्रणालीलाई समेत व्यवस्थित बनाउने तयारी गरिएको छ।
एनपीएलको तेस्रो संस्करणमा सहभागी टोलीका खेल तथा दर्शकको चापलाई ध्यानमा राख्दै कीर्तिपुर मैदानमा आवश्यक संरचना थप तथा सुधारको काम भइरहेको हो।

