विराटनगर, ५ वैशाख–नेकपा (एमाले) विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा बलराम गिरी (नवीन) निर्वाचित भएका छन् ।
विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयमा मतगणना गरेर शुक्रबार बिहानका राति सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार प्रतिस्पर्धी रोहित कोइरालालाई ५२ मतान्तरलेपछि पार्दै गिरीले बाजी मारेका हुन् ।
अध्यक्षमा निर्वाचित गिरीले १ सय ७३ मत पाउँदा कोइरालाको पक्षमा १ सय २१ मत मात्रै पर्यो । एमाले महानगर कमिटीको पदाधिकारीमा गिरी समूहको प्यानलै विजयी भएको छ । उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने (सुरज) १ सय ४५ मतसहित निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्वी राम पोखरेलले १ सय ३६ मत ल्याए ।
सचिवमा विज्ञान शर्मा चापागाईं १ सय ८३ मतसहित विजयी हुँदा प्रतिस्पर्धी नवराज काफ्ले १ सय ४ मतमा सीमित भए । उपसचिवमा हमिद आजाद १ सय ७८ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी चन्द्रशेखर विश्वास ९८ मतबाट अघि बढ्न सकेनन् ।
महिला उपसचिवमा १ सय ६९ मतसहित हिमा मैनाली पोखरेल निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी प्रेमकला डाँगी (कला) १ सय ११ मतमा सीमित हुन पुगिन् ।
एमाले विराटनगरको दोस्रो अधिवेशन पाञ्चालीस्थित पार्टी कार्यालयमा वैशाख २ गतेबाट सुरु भएको थियो ।
वैशाख ३ गतेसम्म चल्ने भनिएको अधिवेशन १ दिन ढिला गरेर सम्पन्न भएको छ । बुधबार निर्वाचन हुने भनिए पनि विवादका कारण बन्दसत्र स्थगित भएको थियो ।
अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । नेतृत्वका लागि २ समूह प्यानलनै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । गिरी पार्टीको इतर अर्थात विनोद ढकाल पक्षका उम्मेदवार थिए ।
कोइराला पार्टीको संस्थापन पक्षका उम्मेदवार हुन् । अधिवेशनका लागि ३ सय १४ जना प्रतिनिधि थिए । बिहीबार राति मतदान सकिँदा ३ सय ८ मत खसेको थियो ।

