काठमाडौं, ६ वैशाख–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निलम्बित स्थायी कमिटी सदस्य डा विन्दा पाण्डेलाई पार्टीमा जिम्मेवारी दिन तयार भएका छन् । त्यसका लागि अध्यक्ष ओलीले ‘अनुशासन’को शर्त राखेका छन् ।
११ पुस २०८१ मा बसेको एमालेको सचिवालय बैठकले डा।पाण्डे सहित पूर्वउपाध्यक्ष डा। भीम रावल, र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई कारबाही गरेको थियो ।
रावललाई निष्कासन गरेको थियो भने पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको थियो । निलम्बनको समय सकिएपछि मंगलबार अध्यक्ष ओलीले डा।पाण्डेसँग भेटेका हुन् ।
स्रोतका अनुसार ओलीले पाण्डेसँग ४० मिनेट संवाद गरेका थिए । पाण्डेलाई जिम्मेवारी दिन तयार रहेको तर त्यसका लागि अनुशासनमा बसेर काम गर्नुपर्ने सर्त राखेको स्रोतले जनाएको छ ।
उनीहरुलाई कारबाही गर्दा उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टले अहमति राखेका थिए ।
यसअघि यी तीन नेताहरूले व्यवसायी मीनबहादुर गुरुङले पार्टीलाई दिएको १० रोपनी १४ आना जग्गाबारे अभिव्यक्ति दिएका थिए । उनीहरूले ‘दानमा बनेको आलिसान बिल्डिङभन्दा मदननगरमा बनेको सानै घर प्यारो हुने’ बताएका थिए ।

