काठमाडौं, ६ वैशाख–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार काठमाडौंको बिजुलीबजारमा निषेधितक्षेत्र तोड्ने तयारी गरेपछि गृह मन्त्रालयले कारबाहीको चेतावनी दिएको छ । सामूहिक गिरफ्तारी दिएर आन्दोलन चर्काउने नीति लिएको राप्रपाले भोलि निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शनको तयारी गरेको छ ।
मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शनिबार साँझ विज्ञप्ति जारी गरी राप्रपाले निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका अभिव्यक्तिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएका हुन्।
विज्ञप्तिमा प्रवक्ता तिवारीले भनेका छन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२र०१र ०७ गतेका दिन प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरु प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’
समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालयले अनुरोध गरेको छ ।
बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सामूहिक गिरफ्तारी दिने नीति लिएको बताइएको छ । ‘गत चैत १५ गते तिनकुनेमा राज्यबाट भएको दमनको घटनाको निष्पक्ष न्यायिक आयोग गठनको लागि दबाब दिन वैशाख ७ गते काठमाडौंमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने’ सार्वजनिक वक्तव्यमा भनिएको छ ।
आफ्ना दुई नेतासहित चैत १५ को तीनकुने प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई बिना शर्त रिहा गर्न राप्रपाले माग गर्दै आएको छ । तीनकुनेमा हिंसात्मक प्रदर्शन भएको घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा प्रहरी हिरासतमा छन्।
२६ चैतमा राप्रपाले बल्खुमा सभा गरेरै आफ्ना नेताहरूलाई रिहाइ र उक्त दिनको घटनाको छानबिन गर्न आयोग गठन नगरिए सशक्त आन्दोलनको चेतावनी दिएको थियो ।

