सुरुङ्गा (कनकाई), १५ बैशाख–कनकाई नगरपालिकामा होमस्टे सञ्चालनका लागि अभिमुखीकरण प्रदान गरिएको छ ।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई लक्षित गरी पर्यटन कार्यालय काँकरभिट्टाको आयोजना र कनकाई नगरपालिकाको समन्वयमा आज ३५ जनालाई होमस्टे सञ्चालन सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ ।
कनकाई–३ सुरुङ्गा जेसीज हलको सभा हलमा आयोजित कार्यक्रमको अध्यक्षता पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले गर्नुभएको थियो भने कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।
ग्रामीण प्रर्यटन अभियान्ता तथा मेचीनगर पालिका वडा नं। ४ का अध्यक्ष अर्जुन कार्कीले स्वागतसँगै कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा, सागर शिवाकोटीले सहभागीलाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेलले कोशी प्रदेश सरकारले सञ्चालन गरेको पयर्टन वर्षलाई सफल बनाउन सक्दो सहयोग गर्ने बताउनुहुँदै नगरका पर्यटकीय क्षेत्रको प्रबद्र्धनमा नगरपालिकाले आवश्यक काम गरिरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा कोच राजवंशी संङ्ग्रालयका अध्यक्ष प्रेम राजवंशी, आदिवासी जनजाति महासंघका केन्द्रीय सचिव मोहन राजवंशीले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन होमस्टे महासंघ कोशी प्रदेश सचिव मन्जिल देवानले सञ्चालन गर्नुभएको थियो ।
