सुनसरी, ३० वैशाख–तीन वर्ष वैदेशिक रोजगारबाट स्वदेश फर्किनुभएका बराहक्षेत्र नगरपालिका–९ का अजित भुजेल अहिले बारीमा च्याउ खेती गरेर वार्षिक रु १८ लाखभन्दा बढी बचत गरिरहेका छन् । दुबईको त्यो तातो घाम पसिना र परदेशको पीडाले थिचिएका उनी अहिले च्याउको टनेलभित्र हरियाली सपना देखिरहेका छन् ।

अजितले दुबईमा काम गर्दा महिनाको रु ३५–४० हजार कमाउँथे तर त्यो पैसाले खासै जीवन चलाउन सजिलो भने थिएन । आफूलाई खाना खर्च अनि घर खर्च पठाउँदै सकिन्थ्यो । बचत त के गर्नु र कहिलेकाहीँ त ऋणै लाग्थ्यो । उनी भन्छन्, ‘गाउँ आएपछि हातमा धेरै पैसा थिएन, तर मनभित्र एउटा आँट र अनुभव भने थियो । अब विदेश होइन, आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले च्याउ खेती सुरु गरेँ ।’

उनले भने, ‘सुरुका दिनमा दुःख र चुनौती भए पनि अहिले व्यवसायले फन्को मार्‍यो । विसं २०७० मा दुई वटा टनेलमा रु दुई लाख २७ हजारको लगानीमा सुरु गरेको थिएँ । सुरुमा च्याउ बिक्री गर्न बजारको समस्या निकै थियो, उत्पादन हुन्थ्यो तर बिक्रीका लागि बजारको समस्या, प्रविधिको अभाव, सीप नहुनु र रोगको समस्या आयो । तर, तालिम र अनुभवले समस्या पार गरेँ । बिस्तारै बिक्रीका लागि बजारको समस्या पनि हट्यो, अहिले सबै राम्रो छ ।’

अहिले उनले १२ टनेलमा च्याउ खेती गर्दै आएका छन् । ती टनेलबाट अफसिजनमा दिनहुँ करिब तीन सय केजी बढी च्याउ उत्पादन हुने गरेको छ भने सिजनमा छ सय केजीसम्म च्याउ उत्पादन हुने गरेको उनी बताउँछन् ।

पुसदेखि फागुनसम्म च्याउ राम्रो उत्पादन हुने सिजन हो । उनले भने, ‘त्यो समय राम्रो उत्पादन भए पनि बजारमा मूल्य भने कम हुन्छ, जुन समय प्रतिकेजी रु ६० देखि रु ८० मा बिक्री गर्नुपर्छ । अहिले भने मैले प्रतिकेजी रु एक सय ६० देखि रु एक सय ७० सम्ममा बिक्री गरिरहेको छु । अहिले यही च्याउ खेतीले दिएको राम्रो आम्दानीबाट घर खर्च धानेर वर्षमा रु १८ लाख बढी मज्जाले बचत हुने गरेको छ ।’ अहिले वर्षमा र २२ देखि २४ लाखसम्मको च्याउ बिक्री हुन्छ । सबै खर्च कटाएर रु १८ लाख बचत गर्ने गरेको उनले बताए ।

अहिले उत्पादन गरेको च्याउ बिक्रीका लागि बजारको समस्या छैन । सुरुमा बजार अभाव भए पनि अब त्यो समस्या छैन । व्यापारी आफैँ फार्ममा च्याउ खोज्दै आउनुहुन्छ भने केही व्यापारीले हामीलाई दिने च्याउ बाँकी छ कि छैन भनेर फोन गर्छन् । उनले भने, ‘व्यापारी फार्ममै च्याउ खरिद गर्न आउँदा हामीले रु २० देखि रु ३० कम मूल्यमा दिने गरेका छौँ । आफैँले बजार पुर्‍याउन सके हामीलाई नाफा हुन्छ । धेरैजसो धरान इटहरी चक्रघटी, कालाबन्जरलगायत स्थानीय बजारमा भने म आफैँले पुर्‍याउने गरेको छु भने विराटनगर, राजविराजलगायत ठाउँबाट व्यापारी आफैँ लिन आउने गरेका छन् ।’

अहिले उनले टनेलमा दुई जना युवालाई रोजगारी दिएका छन् भने बाँकी परिवारलाई पनि यही च्याउखेतीमा रोजगारी मिलेको उनी सुनाउँछन् । देशमा केही छैन भन्ने कुरा त अब पुरानो भयो, काम गर्ने मान्छे अनि इच्छा भयो भने आफ्नै देशमा मनग्य पैसा कमाउन सकिने उनको भनाइ छ ।

परदेशको कमाइ परदेशमै सकिन्छ । तर केही व्यापार गर्दा सिकेर गरियो भने आम्दानी मनग्य छ । उनले भने, ‘च्याउखेतीका लागि विशेष खालको स्याहारको आवश्यकता पर्छ भने सधैँ एकनासको व्यापार हुँदैन, तर च्याउ खेती कम जग्गा र थोरै लगानीमा पनि राम्रै आम्दानी गर्न सकिने उनको अनुभव छ । ‘

च्याउखेतीका लागि विशेषगरी पराल र चुन आवश्यक पर्छ । त्यसबाहेक बाँस र खरले छाएको टहरासँगै प्लाष्टिक र झुल पनि चाहिन्छ । च्याउखेतीमा चार–पाँच दिन मज्जाले खटेर काम गरियो भने एक महिनासम्म ढुक्क हुन्छ । उनले अहिले कन्य जातको च्याउ खेती गरिरहेका छन् । यसमा विषादीको प्रयोग नगरी उत्पादन गरिने भएकाले स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ अनि बजारमा यसको माग पनि बढ्दो रहेको भुजेलले बताए ।
दृष्टिबाट

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *